• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • एमाले पदाधिकारीमा ३९ पुरुषसँग भिड्दै छन् तीन महिला

    एमाले पदाधिकारीमा ३९ पुरुषसँग भिड्दै छन् तीन महिला

    नेकपा (एमाले) को एघारौँ महाधिवेसनमा आज मतदान हुँदै छ। मतदानबाट अध्यक्षसहित ३०१ सदस्यी कार्यसमिति निर्वाचित हुनेछ। यीमध्ये १९ जना पदाधिकारी निर्वाचनबाटै चुनिनेछन्।

    एमालेको विधानमा एक जना महिला पदाधिकारी अनिवार्य हुनु पर्ने व्यवस्था रहेको प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए। तर, कुन पदमा महिला हुनु पर्ने भन्ने निश्चित गरिएको छैन।

    अहिले पदाधिकारीका लागि ४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तर, १९ पदाधिकारीका लागि ३९ जना पुरुषसँग प्रतिस्पर्धा गर्ने तीन जना मात्रै महिला उम्मेदवार छन्।

    महाधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि दोहोरिने तयारीमा छन्। उनले अध्यक्षमै पुनः उम्मेदवारी दिइसकेका छन्। उनलाई यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिँदै छन्।

    पोखरेलले पनि पदाधिकारीसहित सदस्यसम्मै आफ्नो प्यानल बनाएका छन्। पदाधिकारीमा ओलीले आफ्नो टिमबाट एक जना मात्रै महिला उम्मेदवार उठाउँदा पोखरेलले दुई जनालाई अघि सारेका छन्।

    ओलीको टिमबाट सचिवमा पद्यमा अर्याल उम्मेदवार बनेकी छन्। पोखरेलको टिमबाट उपाध्यक्षमा डा. विन्दा पाण्डे र सचिवमा रचना खड्काले उम्मेदवारी दिएकी छन्।

    पाण्डे यसअघि स्थाई कमिटी सदस्य थिइन्। उनले यसपटक ५ जना उपाध्यक्षका लागि १० जनासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार उपाध्यक्षमा पाण्डेसहित ११ जना प्रतिस्पर्धामा छन्।

    छुट्टाछुट्टै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका अर्याल र खड्काले १८ जना पुरुषसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। ९ जना सचिवका लागि २० जना प्रतिस्पर्धामा छन्। अर्याल यसअघि पनि सचिव नै हुन्। खड्का भने यसअघि केन्द्रीय सदस्य थिइन्।

    पदाधिकारीका अन्य पदमा भने पुरुष उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा ओली र पोखरेलले प्रतिस्पर्धा गर्दा महासचिवमा ओलीको टिमबाट शंकर पोखरेल र ईश्वर पोखरेलको टिमबाट सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।

    त्यस्तै, ३ जना उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ। उनीहरू सबै पुरुष नै छन्।

    यसअघि एमालेको दशौँ महाधिवेशनबाट दुई जना पदाधिकारी निर्वाचित भएका थिए। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पदमा अर्याल आएका थिए। शाक्यले भने यस पटक महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा गरेकी थिइन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १, मंगलवार ०८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP