पटक-पटक र लामो छलफलपछि अन्तत: भौतिक पूर्वाधार, ऊर्जा तथा सहरी विकास मन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई बाहिरै राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आइतबार उज्यालो नहुँदै ‘एकता सहमति’ गरेका छन्।
सातबुँदे सहमतिअनुसार दुई पक्षबीच एकतापछि दल तथा सभापति उही रहनेछन् भने भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने छन्।
यो सहमतिपत्रमा हस्ताक्षर हुनुअघि मध्यरातसम्म उनीहरूसँगको छलफलमा कुलमान पनि थिए। जबकि उनी शनिबार राति बालेनसँग बालुवाटारमा निर्णायक छलफलमा थिए। कुलमान-बालेन छलफल भइरहेका बेलामा रास्वपा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहितका नेता लिएर रवि लामिछाने पनि मिसिएका थिए।
केही बेर उनीहरू तीनै जनाबीच छलफल भयो। तर घिसिङ राति साढे ११ बजेतिर निस्किए।
कुरा नमिलेपछि उहाँ (कुलमान) आफ्नो कुरा राखेर निस्कनुभयो, उज्यालो नेपाल पार्टीका एक नेताले नेपालखबरसँग भने।
तर कुलमान निस्किएपछि पनि रवि र बालेन भने हस्ताक्षर गर्ने तयारीसहित निर्णायक छलफलमा जुटे। त्यही छलफल आइतबार बिहान ४ बजे सहमतिमा पुग्यो। र, सहमतिपत्रमा हस्ताक्षर गरे।
तर यो एकतामा किन अटाएनन् कुलमान?
जबकि नक्खु कारागारबाट थुनामुक्त भएपछि घिसिङलाई रास्वपामा ल्याउन सभापति लामिछानेसहित यस पार्टीकै नेताहरूले जोड गरेका थिए।
रास्वपाका नेता शिशिर खनालले त कुलमानलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने आफूहरू तयार रहेको सन्देश पठाएका थिए।
तर बालेनसँग पनि छलफल हुने भएपछि त्यसले मूर्त रूप पाउन सकेन। बरु बालेनले आफू प्रधानमन्त्री हुनुपर्ने अडान राखे।
कुलमान बिच्क्याउने रविको त्यो व्यवहार
कुलमानलाई रास्वपाको कार्यकारी सभापति बनाएर चुनावमा जाने बालेनको चाहना थियो। किनकि सहकारी ठगी, सम्पत्ति शुुद्धीकरण र संगठित अपराधमा रास्वपा सभापति लामिछाने २०८१ कात्तिक २ गतेदेखि नक्खु कारागारमा थिए। जेनजी आन्दोलनपछि कांग्रेस-एमाले सत्ता ढलेको थियो।
जेनजीको चाहनाबमोजिम गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका थिए।
यस्तो अवस्थामा मतदातामा उस्तै प्रभाव पारेका कुलमान, रवि र बालेन एकै ठाउँमा नआउने हो भने पुराना शक्तिहरूलाई धक्का दिन नसकिने उनीहरूको बुझाइ थियो।
तर रवि जेलमा थिए। जसले गर्दा देशभर राम्रो प्रभाव भए पनि रविलाई लिएर चुनावमा जाने अवस्था बनेन।
त्यही भएर बालेनले रास्वपाको नेतृत्व कुलमानलाई दिएर चुनावमा होमिने योजना बनाए।
त्यही योजनाअनुसार उनले आफ्ना विश्वासपात्र कुमार व्यञ्जनकारलाई नक्खु कारागार पठाएर कुलमानलाई रास्वपाको सभापति बनाउने प्रस्ताव रविसम्म पुर्याए।
तर, त्यसलाई रविले ठाडै अस्वीकार गरे। यसले बालेनलाई असन्तुष्ट बनायो।
अनि उनले जेनजी र आफ्नो समर्थन कुलमानलाई दिने बताए।
यो घटनाक्रम नियालिरहेका रास्वपाका नेता फेरि बालेन र कुलमानका निकटहरूसँग संवादमा जुटे।
यस क्रममा कुलमानका तर्फबाट कार्यवाहक सभापति बनाए पनि मिल्न सकिने प्रस्ताव गयो। यसमा पनि रवि सकारात्मक भएनन्।
बरु उनले पार्टी कब्जा गर्न खोजेको रूपमा लिएपछि कुलमानले अन्तत: अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराए।
अहिले यो पार्टीले देशभर संगठन विस्तार गरिरहेको छ। पार्टी प्रचारमा कुलमान आफैँ कुदिरहेका छन्।
यहीबीच रवि जेलमुक्त भए। अनि थाले- राजनीतिक दौडधुप।
तर नक्खु कारागारबाट निस्किएपछि रविले कुलमानसँग भेट गरेको कतै सार्वजनिक भएन। न त भेटबारे दुवै नेताले बताए।
आफूलाई रास्वपामै सामेल गराउने प्रयास भइरहँदा जेलमुक्त भएका रविले नभेट्नुलाई कुलमान पक्षले अर्थपूर्ण रूपमा लियो।
अझ कुलमानसँगै मिलिसकेका काठमाडौँ महानगरपालिकाका मेयर बालेनसँग रविले तारन्तार भेटवार्ता गरे।
गत आइतबारदेखि निरन्तर छलफल गरिरहेका रवि-बालेनले शुक्रबार सहमतिका लागि कार्यदल नै बनाए।
कार्यदलमा रास्वपाबाट शिशिर खनाल र असिम साह तथा बालेनका तर्फबाट स्वकीय सचिव भुपदेव शाह र निकट सहयोगी कुमार व्यञ्जनकार राखिए। तर कुलमान र उनेपालाई पूरै बेवास्ता गरियो।
यही कुराले कुलमानलाई बिच्क्याएको उनीनिकट नेताहरू बताउँछन्।
शनिबार आफूलाई भेट्न आएका बालेनसँग कुराकानीपछि कुलमानले त्यसलाई पुष्टि हुने गरी पहिलोपटक सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए।
उनले एकताको अर्थ अरूलाई समाप्त गर्नु नभएको टिप्पणी गरेका थिए।
त्यति मात्र होइन, अप्रत्यक्ष रूपमा उनले रास्वपा र बालेन एक हुन भइरहेको प्रयासमा उज्यालो नेपाल पार्टीलाई समावेश नगरेकामा पनि असन्तुष्टि जनाए।
‘मैले मात्र एकता हुनुपर्छ भनेर हुँदैन,’ घिसिङले भने, ‘सबैले सोच्नुपर्छ, जनताको चाहना बुझ्नुपर्छ।’
यस क्रममा कुनलमानले आफूसँग रविको भन्दा बढी जनविश्वास रहेको दाबी पनि गरे।
‘उहाँहरूसँग संरचना होला, सबै चिज होला, तर हामीसँग जनताको विश्वास होला,’ कुलमानले भने, ‘त्यही सबैभन्दा ठूलो करा हो। जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ।’
सबैको अस्तित्वलाई बुझेर गरिएको एकता मात्रै लामो समय जाने टिप्पणी उनले गरे बताए।
‘सबैको अस्तित्वलाई बुझेर सबैको अस्तित्वलाई समान हैसियत दिएर एकता भयो भने त्यो एकता लामो समयसम्म टिक्छ, जनताको पनि चाहना त्यही छ,’ घिसिङले थपे।
रवि र बालेनले मिलेर जानको लागि गरेको प्रयासले रुष्ट कुलमानले पार्टीको केन्द्रीय समितिको बैठक राखेर अस्तित्व नै समाप्त हुनेगरि अरू पार्टीमा विलय नहुने निर्णय गराए।
‘हामी हदैसम्म लचक हुन खोज्यौँ,’ बैठकको निर्णय सुनाउँदै एक नेताले नेपालखबरसँग भने, ‘तर, उहाँहरू मिल्न नचाहेको देखियो।’
सोही कारण अब कुलमानको पार्टी उनेपाले आफ्नै नेतृत्वमा समेत नयाँ र वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउन पहल गर्ने भएको छ।
‘हामीले वैकल्पिक, अग्रगामी सबै शक्ति मिलेर जान आह्वान गर्ने निर्णय गर्यौँ, रास्वपालगायत सबैलाई मिलेर जाने हो भने मिल्न उज्यालो नेपाल पार्टी आह्वान गरेका छौँ, हाम्रै पार्टीबाट चुनाव लड्ने हो भने हामी सभापति र प्रधानमन्त्री पनि छोड्न तयार छौँ,’ ती नेताले भने।
कुलमानले किन गराए यस्तो निर्णय?
‘रवि लामिछानेले ‘इग्नोर’ गरेको मन्त्रीज्यूले महसुस गर्नु भएको छ,’ कुलमानका विश्वासपात्र एक नेताले भने, ‘हामी धेरै लचक भएको देखेर रविजीले फाइदा उठाउन खोज्नुभएको रहेछ।’
‘उहाँहरूले बालेनजीलाई बढी महत्त्व दिएर कार्यदल बनाउनुभयो, त्यसमा हामीलाई टोटल्ली समावेश नै गरिएन। हाम्रो झन् पार्टी हो, कुलमानको व्यक्तित्व मात्रै थियो, यसरी सहकार्य हुँदैन,’ उनले थपे।
कुलमान अब पार्टीलाई मजबुत तरिकाले अघि बढाउने सोचमा देखिएका छन्।
‘अब हामी संगठन विस्तार गर्ने, चुनावमा केन्द्रित हुने तिर लाग्यौँ,’ उनेपाका अर्का नेताले भने, ‘समानुपातिक उम्मेदवारको नाम आइतबारसम्म टुंगो लगाउँछौँ।’
प्रतिक्रिया