• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • विपत् प्रभावित इलामका सडक पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

    विपत् प्रभावित इलामका सडक पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

    गत असोज १८-१९ को भारी वर्षापछि क्षति पुगेका इलामका सडक तथा पुल मर्मत र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरेको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको योजनाअन्तर्गत क्षतिग्रस्त मेची राजमार्ग, माईखोला पुल (राजदुवाली), माईखोला पुल (बेलवासे), पुवाखोला पुल, जोगमाईखोला पुल र मेची करिडोरको पुनर्निर्माणमा रकम खर्च गरिनेछ।

    अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा गरेको छ। स्रोत सहमति पाएसँगै सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। कार्यान्वयन विभागमातहतको सडक डिभिजन, इलामले गर्नेछ।

    गत मनसुनमा ३९ जनाको मृत्यु र ठुलो भौतिक क्षति भएका कारण सरकारले इलामलाई तीन महिनाका लागि ‘विपत् संकटग्रस्त’ घोषणा गरेको थियो। मन्त्री घिसिङसहितको टोलीले असोज २५ मा इलाम पुगेर क्षति निरीक्षण गरी तत्काल राहत र दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो।

    स्रोत सुनिश्चित रकमको विवरणअनुसार मेची राजमार्गको पुनर्निर्माणका लागि एक अर्ब ५० करोड, माईखोला राजदुवाली २० करोड, माईखोला पुल बेलवासे २५ करोड, पुवाखोला र जोगमाईखोला बेलिब्रिज निर्माणका लागि पाँच–पाँच करोड र मेची करिडोरको वैकल्पिक सडकका लागि १४ करोड रुपैयाँ छुट्याइएको छ।

    चालू आवका लागि आवश्यक निकासा क्रमशः मेची राजमार्ग २५ करोड, माईखोला राजदुवाली पाँच करोड, माईखोला पुल बेलवासे १० करोड, मेची करिडोर चार करोड, र दुई बेलिब्रिजका लागि पूर्ण रकम उपलब्ध गराइएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १४, सोमबार ०९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP