काठमाडौँ। जापानी उच्च प्रविधिबाट निर्मित नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग ७ वर्षको लामो पर्खाइपछि सञ्चालनका लागि तयार भएको छ। यस ऐतिहासिक सुरुङमार्गको आज सोमबार एक विशेष समारोहका बिच औपचारिक उद्घाटन गरिँदै छ।
उद्घाटनलगत्तै सुरुवाती चरणमा भने एम्बुलेन्स लगायतका आपत्कालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ।
गुर्जुधारा फ्लाइओभरदेखि धादिङको सिस्नेखोलासम्म जोड्ने कुल ५.६७ किलोमिटर लामो यस सडकखण्डमा २,६८८ मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि धादिङको नौबिसेबाट काठमाडौँ भित्रिने दूरी करिब ४ किलोमिटर छोटिनेछ। यसबाट नागढुङ्गाको घण्टौँ लामो जाम, धुलो, पहिरो र दुर्घटनाको सास्तीबाट यात्रुहरूले सधैँका लागि मुक्ति पाउनेछन्।
नागढुङ्गा टनेल अपरेसन एन्ड मेन्टिनेन्सकी प्रवक्ता जिज्ञासा अधिकारीका अनुसार दुर्घटनाको जोखिम कम गर्न सुरुङमार्गभित्र विशेष सुरक्षा मापदण्ड लागू गरिएको छ:
अनुमति प्राप्त सवारी: कार, जिप, माइक्रोबस, मिनिबस, ट्रक तथा ४.७५ मिटरभन्दा कम उचाइ भएका सवारी साधन।
प्रवेश निषेध: डिजेल, पेट्रोल, ग्यास बुलेटजस्ता प्रज्वलनशील/विस्फोटक पदार्थ बोकेका गाडी तथा पशुपक्षी बोकेका सवारी साधन।
सुरुङभित्र यात्रालाई सुरक्षित बनाउन अन्तर्राष्ट्रिय स्तरको प्रविधि जडान गरिएको छ:
आपत्कालीन निकास: मुख्य सुरुङसँगै २,६८८ मिटरकै छुट्टै उद्धार (Evacuation) मार्ग बनाइएको छ। आगलागी वा दुर्घटना भएमा यात्रुलाई सुरक्षित बाहिर निकाल्न हरेक ३७५ मिटरमा गरी ७ वटा आपत्कालीन निकास ढोका राखिएका छन्।
आगो नियन्त्रण प्रविधि: सुरुङभित्र ५५ वटा फायर हाइड्रेन्ट, ६६ वटा फायर डिटेक्टर र हरेक ५० मिटरमा अग्नि नियन्त्रण उपकरण जडान गरिएको छ। आगो लाग्नासाथ डिटेक्टरले ट्राफिक कन्ट्रोल रुममा स्वतः सूचना पठाउनेछ।
अटोमेटिक भेन्टिलेसन: धुवाँ वा वायु प्रदूषण बढेमा स्वतः सञ्चालन हुने ‘जेट फ्यान’ राखिएको छ।
भूकम्पप्रतिरोधी संरचना: भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै ठुलो दबाब परे पनि आफैँ पूर्ववत् अवस्थामा फर्किने विशेष ड्रेनेज पाइप प्रयोग गरिएको छ।
स्मार्ट अटोमेटिक टोल (ETC/RFID): सुरुङमार्ग प्रवेश गर्नुअघि टोल प्लाजाबाट स्वचालित रूपमा शुल्क काटिनेछ। यसका लागि ‘इलेक्ट्रोनिक टोल कलेक्सन’ (ETC) र RFID प्रणाली जडान गरिएको छ, जसले कम्प्युटरका माध्यमबाट सवारीको प्रकार पहिचान गरी शुल्क निर्धारण गर्छ।
एडाप्टिभ लाइटिङ: सुरुङभित्र प्रवेश गर्दा चालकले अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्नेछ। बाहिरको उज्यालो अनुसार सुरुङभित्रको प्रकाश स्वतः समायोजन हुने (Adaptive Lighting) भएकाले चालकको आँखामा तनाव पर्दैन। विद्युत् अवरुद्ध भएमा आकस्मिक बत्ती र जेनेरेटर प्रणाली स्वतः सञ्चालन हुने व्यवस्था छ।
विगतमा नागढुङ्गाको उकालो पार गरेर सिस्नेखोला पुग्न सामान्य अवस्थामा पनि कम्तीमा ४५ मिनेट लाग्ने गर्दथ्यो। अब भने गुर्जुधारा फ्लाइओभर हुँदै सुरुङ मार्गबाट सिस्नेखोला पुग्न मात्र २० मिनेट लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिइन्।
यस प्रविधिमैत्री सुरुङमार्गले राजधानी आवतजावत गर्ने यात्रुहरूको समय र इन्धन बचत गर्नुका साथै समग्र यात्रालाई थप सुरक्षित, सहज र आधुनिक बनाउने विश्वास लिइएको छ।
प्रतिक्रिया