नुवाकोट । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले बाढी तथा डुबानबाट प्रभावित परिवारका लागि रु. १० लाख ५० हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न तथा आवश्यक राहत सामग्री सम्बन्धित क्याम्पका अध्यक्ष ,सचिव लगायत संयोजकलाई हस्तान्तरण गरिएको थियो।
संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको टोली राहत सामग्रीसहित नुवाकोट पुगेको हो। विपद्को यस दुःखद घडीमा पीडित परिवारको साथमा उभिँदै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले संघले राहत अभियान सञ्चालन गरेको जनाएको छ।
संघले विदुर नगरपालिका–३ देवीघाट तथा बुद्धसिंह, वडा नं. ७ का सोले र टुप्चे, वडा नं. ९ का हात्तीगौंडा तथा किस्ताङलगायतका बाढी प्रभावित क्षेत्रका परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको छ।
विपद्का कारण प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक संस्थाहरू तथा व्यवसायी समुदायको पनि दायित्व भएकाले संघले आफ्नो तर्फबाट राहत अभियान सञ्चालन गरेको जनाएको छ।
संघले बाढीबाट प्रभावित व्यवसायी तथा परिवारहरूको अवस्था बुझ्दै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने र प्रभावित आफ्ना व्यवसायी हरुलाई आर्थिक सहयोग गर्ने संघका अध्यक्ष केशवबहादुर सुनारले बताउनु भयो ।
प्रतिक्रिया