• २०८३ कार्तिक २० | Thu, 05 Nov 2026

  • विचौलिया प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेस महामन्त्री पौडेलको माग

    विचौलिया प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेस महामन्त्री पौडेलको माग

    काठमाडौँ, १६ कार्तिक — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पछिल्लो समय सार्वजनिक भएको विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा उच्चस्तरीय र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

    सिंहदरबारमा आयोजित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकार स्वयं विवादमा तानिएकाले निष्पक्ष छानबिनका लागि तत्काल संसद् बैठक बुलाई संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिएका हुन्।

    “विचौलिया प्रकरणमा सरकार, अदालत तथा अन्य महत्त्वपूर्ण पक्षहरू जोडिएका समाचारहरू बाहिरिएका छन्, यसको गहिराइमै पुगेर सत्यतथ्य छानबिन हुनुपर्छ,” पौडेलले भने, “दूधको दूध, पानीको पानी छुट्याइनुपर्छ। अदालतमै कुरा जोडिएकाले सरकार एक्लैले गर्ने छानबिनमा निष्पक्षता कायम हुन गाह्रो हुन्छ।”

    उनले अदालत, सरकार र समग्र राज्य संयन्त्रलाई विचौलियामुक्त बनाउनुपर्ने दायित्व रहेको बताउँदै राज्यका महत्त्वपूर्ण निकाय नै विचौलिया प्रकरणमा जोडिनु गम्भीर विषय भएको उल्लेख गरे।

    यसैगरी, महामन्त्री पौडेलले पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रतामाथि भइरहेको नियन्त्रण र दबाबप्रति कडा आपत्ति जनाएका छन्। दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप सुरक्षित हुने अपेक्षा गरिए पनि पत्रकार तथा सञ्चारमाध्यमलाई तर्साउने र नियन्त्रण गर्ने प्रयास भइरहेको उनको आरोप थियो।

    “शाहीकालमा भन्दा बढी अहिले प्रेसमाथि नियन्त्रण र तर्साउने काम गरिएको छ,” पौडेलले भने। उनले सरकारका यस्ता अलोकतान्त्रिक गतिविधि र हस्तक्षेपका विरुद्धमा सत्तारुढ दलका नेताहरूसमेत निष्पक्ष छानबिनको पक्षमा विपक्षीसँगै उभिनुपर्ने बताए।

    साथै, विवादित न्यायाधीशहरूमाथि महाभियोग लगाउने विषयमा कांग्रेसले अन्य विपक्षी दलहरूसँग आवश्यक परामर्श गरी ठोस कदम चाल्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १७, सोमबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP