सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहा र डडेल्धुराको जोगबुडामा प्रादेशिक अस्पताल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सम्बन्धित स्थानीय तहले सञ्चालन गरिरहेका लम्की आधारभूत अस्पताल र जोगबुडा आधारभूत अस्पताललाई प्रदेशमातहत ल्याएर प्रादेशिक अस्पताल बनाउन लागिएको हो ।
प्रदेश मन्त्रिपरिषद् बैठकले लम्की र जोगबुडा प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरिसकेको छ । १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले ओएनएम स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले जानकारी दिए ।
प्रदेश सरकारअन्तर्गत हाल सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा बयलपाटा प्रादेशिक अस्पताल अछाम सञ्चालनमा छन् । दातृनिकायको सहयोगमा सञ्चालन हुँदै आएको बयलपाटा अस्पताल गत भदौबाट प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुन थालेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. चेतराज जोशीले लम्की र जोगबुडामा यसै आर्थिक वर्षभित्र प्रादेशिक अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढेको बताए । प्रादेशिक अस्पताल ५० शड्ढयाको रहनेछ । अहिले दुवै आधारभूत तहका १५ शड्ढयाका अस्पताल हुन् ।
प्रादेशिक अस्पताल प्रमुख ११औँ तहको चिकित्सक रहनेछन् । नवौँ र दसौँ तहका १० जना चिकित्सकसहित एक सय ४६ जना कर्मचारी दरबन्दी रहने जोशीले बताए । आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा सञ्चालनका लागि लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिकाले प्रदेश सरकारलाई स्वीकृति दिइसकेका मन्त्रालयले जनाएको छ ।
जोगबुडामा प्रादेशिक अस्पताल बन्दा स्थानीयलाई स्वास्थ्य उपचार सुविधामा ठुलो राहत हुनेछ । जोगबुडा अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले उपचारका लागि सीमावर्ती भारतीय बजार र धनगढी पुग्नुपर्ने बाध्यता छ । केही विशेषज्ञ सुविधा भएको डडेल्धुरा अस्पताल पुग्न स्थानीयलाई भौगोलिक रूपमा टाढा पर्छ ।
पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जोगबुडामा प्रादेशिक अस्पताल बन्दा पर्शुराम मात्र नभएर सँगै जोडिएको आलीताल तथा भागेश्वर गाउँपालिकाका स्थानीयलाई पनि उपचार सेवामा धेरै राहत हुने बताए । अस्पतालमा सामान्य प्रसूति हुँदाहुँदै अप्रेसन गर्नुपर्ने अवस्था आए पनि धनगढी पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
‘बर्सेनि कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ,’ जोशीले भने, ‘यहाँ न्यून र मध्यम आयस्तरका धेरै छन् । आर्थिक अभावले अन्यत्र गएर उपचार गर्न नसक्दा रोग सहेर बस्ने र जटिल भएपछि मात्र अन्यत्र जाने अवस्था छ । प्रादेशिक अस्पताल सञ्चालन भए रोग सहेर बस्नुपर्ने र उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ ।’
अरू वेला बिरामी हुँदा धेरै स्थानीय डुंगामा महाकाली नदी तरेर सीमावर्ती भारतीय सहर जाने गरे पनि बर्खामा भने धनगढी आउने गरेको उनले बताए । लम्कीचुहामा जोडिएको टीकापुर नगरपालिकामा १०० शड्ढयाको अस्पताल सञ्चालनमा छ ।
दुवै आधारभूत अस्पतालका भवन रहेकाले प्रादेशिक अस्पताल सञ्चालन गर्न सरकारले तत्काल भवन बनाउनुपर्नेछैन । दरबन्दी स्वीकृत भइसकेकाले कार्यरत कर्मचारी व्यवस्थापन र आधारभूत अस्पतालको स्वामित्व प्राप्तिबारे अब दुवै पालिकासँग प्रक्रिया अगाडि बढाउने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भरत बडायर जोशी : प्रमुख, परशुराम नगरपालिकाका
आर्थिक अभावले अन्यत्र गएर उपचार गर्न नसक्दा रोग सहेर बस्ने र जटिल भएपछि मात्र अन्यत्र जाने अवस्था छ । प्रादेशिक अस्पताल सञ्चालन भए रोग सहेर बस्नुपर्ने र उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ ।
प्रतिक्रिया