सरकारले रसुवा बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जनाएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्यांक अद्यावधिक गर्ने काम अघि बढाइएको जानकारी दिएका हुन्।
विपद्पछिको उद्धार, राहत तथा खोजकार्यलाई प्रभावकारी बनाउन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको स्पष्ट माग गरेको छ। प्रवक्ता पौडेल क्षेत्रीका अनुसार सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष ‘टनेल रेस्क्यु’ टोली, पुरिएका शव फेला पार्न ‘आइएसएआर’ (ISAR) जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको छ। केही फ्रिजर प्राप्त भइसकेको र केही आउने क्रममा रहेको उनले बताए।
यसैगरी, मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डिएनए (DNA) परीक्षण उपकरण र आवश्यक किट्ससहितको प्राविधिक सहयोग पनि माग गरिएको छ। राहत वितरण तथा दीर्घकालीन पुनर्निर्माणका विषयमा बोल्दै उनले ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ (Post-Disaster Needs Assessment) सम्पन्न भएपछि मात्र पुनर्स्थापनाका लागि थप सहयोगको स्पष्ट खाका तय गरिने जानकारी दिए।
प्रतिक्रिया