नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला महाधिवेशनबारे पार्टीमा उत्पन्न विवाद समाधानका लागि अग्रसर भएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८–३१ गतेसम्म नियमति महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेपछि नेता कोइराला शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका छन्।
यसै क्रममा उनले आज (शनिबार) बिहान पनि महाराजगन्जस्थित निवासमै पुगेर सभापति देउवासँग भेटवार्ता गरेका छन्।
देउवासँगको छलफपछि नेता कोइरालाले नेपालखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई विवादमा फस्न नदिन आफू सक्रिय भएको बताए।
उनले भने, ‘सबै समूहसँग कुरा हुँदै छ। सहमति त्यस्तो केही भएको छैन। मैले केही कुरा राखेको छु। हेरौँ के हुन्छ? पार्टी सभापति, महामन्त्री सबैसँग कुराकानी गरिरहेको छु। पार्टीलाई समस्या फस्न दिनु हुँदैन भन्नेमै छु। ढुक्क हुनूस्- पार्टीलाई समस्या फस्न दिँदैनौँ।’
विशेष महाधिवेशन पक्षधरले माघ ६ गतेपछि बेलाउँदा उचित हुने कोइरालाको बुझाइ थियो।
‘त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन्। यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ’, उनको भनाइ थियो।
तर पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेकाले समधानको उपाय खोज्न कोइरालाले सभापति देउवालाई आग्रह गरिरहेका छन्।
यद्यपि नेता कोइरालाले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन आफूलाई स्वीकार्य नभएको बताउँदै आएका छन्।
‘विशेष महाधिवेशन गर्ने प्रक्रिया होला। केन्द्रीय समितिले भन्नुपर्यो। महामन्त्रीले विशेष महाधिवेशनको कुरा गरेर हुन्छ’, उनको प्रश्न छ, ‘विशेष महाधिवेशन म पनि चाहन्छु। तर, केन्द्रीय समितिले निर्णय गरोस् विशेष महाधिवेशनको।’
केन्द्रीय समिति बैठकबाट कार्यविधि बनाएर विशेष महाधिवेशनमा जानु उपयुक्त हुने उनको धारणा छ।
यसअघि कोइरालाले बिहीबार बिहान पनि सभापति देउवासँग छलफल गरेका थिए।
प्रतिक्रिया