माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट १० दिनपछि सकुशल उद्धार गरिएका सञ्जय साहका आमाबुवा र दाजु उनलाई भेट्न काठमाडौँ आइपुगेका छन्। तिलाठी कोइलाडी गाउँपालिका–४ (सप्तरी) का बासिन्दा साहको सकुशल उद्धार भएको खबर पाएलगत्तै उनीहरू हवाईजहाजमार्फत काठमाडौँ आएका हुन्।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलका अनुसार परिवारलाई सञ्जयको उद्धारको खबर स्वयं उनैले गराएका थिए। सञ्जयका अर्का एक दाजु पहिलेदेखि नै काठमाडौँमा रहँदै आएका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनको नेपाली सेनाको टोलीले जीवितै सफल उद्धार गरेको हो। सुरुङभित्र अन्य व्यक्तिहरू पनि फसेको आशङ्कामा सेनाले संयुक्त खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
प्रतिक्रिया