काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको आन्तरिक रणनीति र विषयगत कार्यहरूलाई प्रभावकारी बनाउन सात वटा उपसमितिहरू गठन गर्दै तिनको संयोजक तोकेको छ। प्रतिष्ठानका प्रमुख एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले ती महत्त्वपूर्ण विषयगत उपसमितिहरूको नेतृत्व चयन गरेको हो। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानको बैठकले देशको आर्थिक तथा सामाजिक मुद्दाहरूलाई समेट्ने गरी जिम्मेवारी बाँडफाँड गरेको हो।
नयाँ जिम्मेवारी अनुसार पार्टीको अर्थ योजना उपसमितिको संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहनुभएका प्रा.डा. गोविन्दराज पोखरेल चयन हुनुभएको छ। त्यस्तै, समसामयिक विश्वकै चुनौतीका रूपमा रहेको जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिँदै गठन गरिएको जलवायु परिवर्तन सचेतना उपसमितिको कमान्ड रोशनी गिरीलाई सुम्पिएको छ। युवा पुस्ताका भावना, समसामयिक मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वयलाई अगाडि बढाउने जिम्मेवारी चलचित्र निर्देशक मीनबहादुर भामले पाउनुभएको छ भने अनौपचारिक क्षेत्रका श्रमिकहरूको नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन हुनुभएको छ।
यसैगरी, प्रतिष्ठानले सामाजिक र सार्वजनिक सरोकारका अन्य तीन उपसमितिको पनि नेतृत्व टुङ्गो लगाएको छ। जसअन्तर्गत बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनीलाई तोकिएको छ भने नागरिकको दैनिक जीवनसँग जोडिएको सार्वजनिक सेवा प्रवाह, नीति र थिती संवाद उपसमितिको संयोजकको जिम्मेवारी गोपालप्रसाद पोख्रेलले पाउनुभएको छ। त्यस्तै, गैरसरकारी संस्थाहरूसँगको नीतिगत संवाद र समन्वयलाई व्यवस्थित गर्न गठन गरिएको उपसमितिको संयोजकमा अञ्जु झा चयन हुनुभएको पार्टी कार्यालयले जनाएको छ। नवगठित उपसमितिहरूले आ–आफ्नो क्षेत्रमा अनुसन्धान र प्रशिक्षणका कार्यक्रमहरू तय गर्ने बताइएको छ।
प्रतिक्रिया