• २०८३ कार्तिक २१ | Fri, 06 Nov 2026

  • उत्तर कोरियाद्वारा एआई प्रविधियुक्त ड्रोन र ‘स्नाइपर’ रकेट प्रणाली सार्वजनिक

    उत्तर कोरियाद्वारा एआई प्रविधियुक्त ड्रोन र ‘स्नाइपर’ रकेट प्रणाली सार्वजनिक

    प्योङयाङ। उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित अत्याधुनिक ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। सर्वोच्च नेता किम जोङ उनले सेनालाई ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्।

    उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार सर्वोच्च नेता किमको उपस्थितिमा आयोजित विशेष सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमानहरू प्रदर्शन गरिएका थिए। परीक्षणका क्रममा ती हतियारहरूले तोकिएका टापुका लक्ष्यहरूमा शतप्रतिशत सटिक प्रहार गरेको उत्तर कोरियाली पक्षले दाबी गरेको छ।

    प्रदर्शनीमा सार्वजनिक गरिएका तस्बिरहरूमा ६०० मिलिमिटरका रकेट र ड्रोनहरूले दक्षिण कोरियाली सैनिक चौकी तथा अमेरिकी एम१ अब्राम्स ट्यांकका नमुना लक्ष्यहरूमा सफल आक्रमण गरेको देखाइएको छ। किमले आणविक शक्ति सम्पन्न राष्ट्रका रूपमा उत्तर कोरियाले परम्परागत हतियारहरूको आधुनिकीकरणका साथै एआई र मानवरहित प्रणालीको विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

    यसैबिच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी सागरतर्फ प्रहार गरिएका करिब १० वटा छोटो दुरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू पत्ता लगाएको जनाएको छ। करिब २५० किलोमिटर दुरी तय गरेका ती क्षेप्यास्त्रहरू उत्तर कोरियाले यस वर्ष गरेको १७औँ परीक्षण हुन्।



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १४, शुक्रबार १२:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP