• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रतिनिधि सभा चुनावका लागि रास्वपाका उम्मेदवार छान्ने जिम्मा आचार्यलाई

    प्रतिनिधि सभा चुनावका लागि रास्वपाका उम्मेदवार छान्ने जिम्मा आचार्यलाई

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनोटको जिम्मा सह-महामन्त्री विपिनकुमार आचार्यलाई दिएको छ।

    रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई यसबारे थप जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मीनष झाले जानकारी दिए। यसअघि उनी उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयार पार्ने जिम्मेवारीमा थिए।

    त्यसलाई सफलतापूर्वक पूरा गरेको भन्दै उम्मेदवार छनोटको पनि जिम्मेवारी दिएको हो। आचार्य संयोजक रहने समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) तथा सबै प्रदेश सभापतिहरू पदेन सदस्य रहनेछन्।

    बैठकले समसामयिक राजनीतिक अवस्थामाथि व्यापक छलफल गर्दै जेनजीको राजनीतिक सक्रियताबाट प्राप्त उपलब्धि संस्थागत गर्न सुसंस्कृत एवं परिवर्तनकामी शक्तिसँग मुद्दागत तथा सांगठनिक सहकार्यका ढाँचा विकास गर्ने निष्कर्ष निकालेको छ।

    यसका लागि उपसभापति डा. स्वर्णिम वाग्ले संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई संवाद प्रक्रिया थप घनिभूत गर्न निर्देशन दिइएको छ।

    त्यसैगरी, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्दै सहभागी प्रतिनिधि, व्यवस्थापनमा खटिएका पार्टी पंक्ति, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा चितवनवासीलगायत सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ।

    संविधान परिमार्जन कार्यदलको नाम परिमार्जन गरी ‘संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल’ राखिएको छ र यसको संयोजकका रूपमा सोविता गौतमलाई जिम्मेवारी दिइएको छ।

    पार्टीले सबै प्रदेश र जिल्लामा निर्वाचन लक्षित विस्तारित बैठक तथा जेनजी उमेर समूहसँग संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ। साथै, संगठनका रिक्त पद समावेशिताका आधारमा छिटो पूर्ति गर्न निर्देशन दिइएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर ४, बिहीबार ०७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP