इरानमा जारी सरकारीवरोधी प्रदर्शनमा ठुलो संख्यामा मानिस मारिएको विषयमा फरक फरक तथ्यांक सार्वजनिक भइरहेका छन्।
रोयटर्स र मानव अधिकार संगठनहरूले त्यहाँ अहिलेसम्म मृत्यु भएकाको संख्या २ हजारदेखि ५ हजारसम्म हुने अनुमान गर्दा बीबीसी सम्बद्ध सीबीएस न्युजले मृतकको संख्या १२ हजार पुगिसकेको उल्लेख गरेको छ।
सीबीएसले त इरान भित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या २० हजार पनि पुग्न सक्ने उल्लेख गरेको छ।
उता एक्सियोस समाचार वेबसाइटले इजरायली गुप्तचर स्रोतले मृतकको संख्या लगभग ५ हजार रहेको बताएको जनाएको छ। इरानमा भएको विरोध प्रदर्शनमा मारिएकाको वास्तविक संख्या धेरै कारण एकिन गर्न गाह्रो छ।
किनकि इरानमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई सञ्चालन गर्न निषेध गरिएको छ र पाँच दिनदेखि इन्टरनेट पनि बन्द गरिएको छ।
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानमा जनप्रदर्शन भइरहेको हो।
यस क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप पनि भइरहेका छन्।
प्रतिक्रिया