• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा सञ्जीवकुमार शर्मा

    ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा सञ्जीवकुमार  शर्मा

    सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा.डा सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा परेका छन्। अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा शर्मा पनि छनोट भएका छन्। पछिल्ला २५ वर्षदेखि सर्पदंश उपचार पद्धति सुधार, बाथ रोग, मुटु रोग, मिर्गौला रोगलगायत विषयमा डा. शर्माले महत्वपूर्ण अध्ययन तथा अनुसन्धान गरेको योगदानको आधारमा वैज्ञानिक छनोट गरिएको हो। उनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। वैज्ञानिकको सूचीमा विगतमा बीपी प्रतिष्ठानमा कार्यरत प्रा.डा सुमन रिजाल पनि परेका छन्, जो हाल डब्लूएचओ, दिल्लीस्थित सर्ने रोग विभागका निर्देशक छन्।
    नास्टका वैज्ञानिक डा. निरञ्जन कोइरालाका अनुसार स्कोपस डाटाबेसका आधारमा तयार हुने यो सूची विश्वभरका प्रभावशाली वैज्ञानिकहरूको वार्षिक मूल्यांकन हो। अनुसन्धान उत्पादन, उद्धरण दर र बिब्लियोमेट्रिक प्रभावका आधारमा स्ट्यानफोर्ड–एल्सेभियर टोलीले सूची तयार गर्छ। यस वर्ष नेपालका ३१ वैज्ञानिक विश्वका सबैभन्दा प्रभावशाली शीर्ष २ प्रतिशतमा परेका छन्।
    धरानका प्राडा शर्माले पाएको यो अन्तर्राष्ट्रिय मान्यता स्वास्थ्य विज्ञान अनुसन्धानमा नेपालका लागि प्रेरणादायी उपलब्धि बनेको छ। डा. शर्माले स्वास्थ्य विज्ञान अनुसन्धानमार्फत आफ्नो र बीपी प्रतिष्ठानको नाम विश्वमाझ चम्किनु गर्वको विषय भएको बताएका छन्। उनले भने, ‘स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल र आफूले गरेको कामसँगै प्रतिष्ठानको नाम अगाडि आउनु अत्यन्तै खुसी र गर्वको विषय बनेको छ।’
    करिब २५ वर्षअघिदेखि निरन्तर स्वास्थ्य अनुसन्धानमा सक्रिय रहेका प्रा.डा शर्मा उपचार पद्धति र चिकित्सकीय ज्ञानलाई प्रभावकारी बनाउने काममा केन्द्रित छन्। उनले चिकित्सक र शिक्षक दुवैले अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘बिरामीलाई उपचार गर्नु डाक्टरको कर्तव्य हो भने अनुसन्धान विज्ञानको आधार हो, अनुसन्धानबिना चिकित्सा विज्ञान अघि बढ्दैन,’ उनले भने। युवा पुस्तालाई समेत अनुसन्धानतर्फ प्रेरित गर्दै उनले लगन, अनुशासन र निरन्तरता भए लक्ष्य पक्कै पूरा हुने बताए। उनका अनुसार वैज्ञानिक अनुसन्धानमा संलग्न हुने वातावरण र अवसरले आफूलाई अझ हौसला प्रदान गरेको बताए।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक ३०, आईतवार ११:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP