नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीकै निवासमा बसिरहेको बैठकमा पार्टीको आन्तरिक संगठन र देशको समसामयिक राजनीतिक परिस्थितिबारे सघन छलफल भइरहेको नेताहरूले जनाएका छन्। यस बैठकमा विशेष गरी केन्द्रीय नेताहरूको कार्यविभाजनलाई प्रमुख एजेन्डाको रूपमा अघि सारिएको छ।
बैठकले पार्टीको आन्तरिक जिम्मेवारी बाँडफाँडसँगै आगामी सांगठनिक रूपरेखा र रणनीति तय गर्ने बताइएको छ। यसका साथै, गत फागुन महिनामा सम्पन्न निर्वाचनको विस्तृत समीक्षा गर्नका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि नेताहरूबीच छलफल चलिरहेको छ।
बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय राजनीति र सरकारका गतिविधिमाथि समेत समीक्षा भइरहेको छ। विशेष गरी सरकारले जबरजस्ती हटाएका सुकुम्वासीहरूको उचित व्यवस्थापन र पुर्नवासको विषयलाई एमालेले गम्भीरताका साथ उठाएको छ। वर्तमान सरकारका पछिल्ला कामकारबाही र जनसरोकारका मुद्दाहरूलाई एजेन्डा बनाएर बैठकमा आवश्यक निर्णय लिइने नेताहरूले बताएका छन्।
प्रतिक्रिया