प्रधानन्यायाधीशमा सिफारिस भएको भोलिपल्टै सर्वोच्च अदालतमा उत्पन्न खटपटका कारण इजलासबाट टाढिएका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा अन्ततः १२ दिनपछि कार्यक्षेत्रमा फर्किएका छन्। मंगलबार प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै उनले बुधबार गोलाप्रथा प्रक्रियामा भाग लिएर नियमित मुद्दाको सुनुवाइ सुरु गरेका हुन्। बुधबारका लागि प्रधानन्यायाधीश शर्मा र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलास तोकिएको छ, जहाँ उनीहरूले धमाधम मुद्दाहरूको सुनुवाइ गरिरहेका छन्। उक्त इजलासमा कूल ३२ वटा मुद्दाको पेसी तोकिएकोमा ६ वटा रिट निवेदनको सुनुवाइ सकिइसकेको छ।
यसअघि वैशाख २४ गते प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माको भोलिपल्टै गोला तान्ने हलमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीशसँग सामान्य विवाद भएको थियो। उक्त विवादपछि गोला नतानी आफ्नै च्याम्बरमा फर्किएका शर्माले प्रधानन्यायाधीश नियुक्तिको औपचारिक प्रक्रिया नलम्बिएसम्म मुद्दाको सुनुवाइमा नजाने निर्णय लिएका थिए।
रोचक कुरा त के छ भने, प्रधानन्यायाधीश शर्मा अदालतमा फर्किएकै दिनदेखि सर्वोच्चकी अर्की न्यायाधीश मल्ल भने बिदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश मल्लले २० दिनको घरबिदा लिएकी हुन्। प्रधानन्यायाधीशको पुनरागमन र वरिष्ठ न्यायाधीशको लामो बिदालाई अदालतभित्र अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया