• २०८३ कार्तिक २० | Thu, 05 Nov 2026

  • भोटेकोसी सुरुङ उद्धार: ३७ जनाको शव फेला, ११औँ दिन एक चिनियाँ नागरिकको जीवितै उद्धार

    भोटेकोसी सुरुङ उद्धार: ३७ जनाको शव फेला, ११औँ दिन एक चिनियाँ नागरिकको जीवितै उद्धार

    २०८३ कात्तिक १३,

    काठमाडौँ — भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ। शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको जानकारी दिए। सोही जटिल परिस्थितिबीच सुरुङभित्रको खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल जीवितै उद्धार गर्न सफल भएको उनले बताए।

    उक्त आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो जहाँ नेपाली र भारतीय कामदारहरू कार्यरत थिए। आयोजनाका दुईवटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा निर्माण कार्य भइरहेको थियो। सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको स्पष्ट पारे। हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा गरी ठूलो सङ्ख्यामा कामदारहरू कार्यरत रहेका थिए।

    उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुईवटा सम्भावित स्थान मात्रै फेला पारेको थियो भने अन्य प्रवेश मार्गहरू पूर्ण रूपमा अवरुद्ध थिए। नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाएका थिए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्रै हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिँदै उनले डिसेन्डर बेसिन क्षेत्रमा भने हेलिकप्टर अवतरण गर्न सम्भव नभएको बताए। उद्धार टोलीले ठूलो जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमी जस्ता ठूला चुनौतीहरूको सामना गर्नुपरेको थियो। कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरिएको थियो।

    सहायक रथी थापाका अनुसार सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको हो। त्यस्तै, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरुङभित्र करिब एक हजार सात सय मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो, जहाँ सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको भेटिएको थियो। खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिनुका साथै सोही क्षेत्रमा ३७ वटा शव फेला परेको उनले जानकारी दिए। सुरुङभित्रको भौतिक अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको छ।

    हाल पनि खोज तथा उद्धारको काम जारी रहेको उनले बताए। हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगे पनि त्यसपछिको क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ। सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरुङभित्र १७ फिटसम्म पानी र लेदो जमेको अवस्था छ। अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको जानकारी दिँदै उनले हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको बताए।

     



    radiomirmire radiomirmire    
  • २०८३ कार्तिक १४, शुक्रबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP