सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच दोस्रो संस्करणको उपाधिका लागि भिडन्त, विजेताले एक करोड १० लाख पाउने
फ्लडलाइटको उज्यालो, नयाँ प्यारापिटमा खचाखच दर्शक, विदेशी स्टार र विश्वभर प्रसारणबिच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि भिडन्त हुँदै छ । कीर्तिपुरको चिसो हावासँगै त्रिवि रंगशालाले पाउँदै छ एनपिएलको नयाँ राजा । ‘डे–नाइट’ फाइनल खेल अपराह्न साढे ३ बजे सुरु हुनेछ । क्रिकेटप्रेमीहरू छातीको धड्कन बढाएर नेपाली क्रिकेटको नयाँ इतिहास रच्ने खेल हेर्न आतुर छन् ।
सुदूरपश्चिम र लुम्बिनी पहिलोपटक उपाधि कब्जाका लागि आमनेसामने हुँदै छन् । गत सिजनको उपविजेता सुदूरपश्चिमले निरन्तर दमदार प्रदर्शन गर्दै तथा ‘अन्डरडग’का रूपमा उदाएको लुम्बिनीले काठमाडौं र विराटनगरलाई पाखा लगाउँदै ऐतिहासिक फाइनल यात्रा तय गरेका हुन् । सुदूरपश्चिम गत सिजनको अपूर्ण सपना पूरा गर्ने दाउमा छ भने लुम्बिनी अवसरलाई उपाधिमा बदल्न तत्पर छ ।
दोस्रो संस्करणमा आठ टोली सहभागी रहे । पहिलोपटक फ्लड लाइटमा भएको प्रतियोगिताले नयाँ प्यारापिट, अत्याधुनिक लाइट र निरन्तर भरिने दर्शकका कारण विशेष आकर्षण पायो । ३२ मध्ये ३१ खेलमा रंगशाला झन्डै भरिएको थियो । पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएपछि नेपाल सरकारले त्रिवि मैदानमा अत्याधुनिक लाइट र १० हजार सिटको प्यारापिट जडान गरेको थियो ।
पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स खराब प्रदर्शन गर्दै यसपटक तालिकाको पुछारमा रह्यो । गत सिजनको उपविजेता सुदूरपश्चिमले फाइनलमा नयाँ प्रतिद्वन्द्वी पायो । सुदूरपश्चिम लगातार दोस्रोपटक र लुम्बिनी पहिलोपटक फाइनलमा पुग्दा विराटनगर किंग्स क्वालिफायर २ बाट बाहिरियो । काठमाडौं गोर्खाज भने इलिमिनेटरबाट अगाडी बढ्न सकेन । यस्तै, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र साबिक विजेता जनकपुर बोल्ट्स भने समूह चरणबाट माथि बढ्न सकेनन् ।
यसपटक फाफ डु प्लेसिस, मार्टिन गुप्तिल, स्कट कुगुलेइन, रवि बोपरा, क्रिस लिन, डेभिड मालन, जिमी निसमजस्ता विश्वचर्चित खेलाडीले एनपिएल खेले । यीसँगै टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रका ४८ विदेशी खेलाडी त्रिवि मैदानमा देखिएका थिए । प्रतियोगिता स्टार स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुँदा नेपाली क्रिकेटको चर्चा विश्वभर भयो । पोखरामा एडन रोसिङटन र कर्णालीका मार्क वाटले शतक प्रहार गरे ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साबिक उपविजेता सुदूरपश्चिमले गत सिजनको जस्तै प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्यो । समूहमा शीर्ष स्थानमा रहँदै दुई खेलअघि नै प्लेअफ तय गरेको थियो । खेलेको आठमध्ये सात खेलमा विजयी भएको छ । समूह चरणको अन्तिम खेलमा मात्रै विराटनगरसँग पराजित भएको थियो । सुदूरपश्चिमको यात्रामा विकेटकिपरसमेत रहेका विनोद भण्डारीले दुई अर्धशतक बनाए । त्यस्तै थप पाँच खेलाडीले अर्धशतक बनाएका छन् ।
अर्धशतक बनाउनेमा अस्ट्रेलियन स्टार खेलाडीद्वय जस ब्राउन र क्रिस लिन, अमेरिकाका हर्मित सिंह तथा नेपाली खेलाडीहरू ईशान पाण्डे छन् । आठ इनिङ्समा कुल २६४ रन बनाएका विनोद प्रतियोगितामा सर्वाधिक रन बनाउने पहिलो नेपाली तथा समग्रमा दोस्रो खेलाडी हुन् । यता, नेपालका अभिनाश बोहराले सानदार बलिङ गरिरहेका छन् । उनले आठ इनिङ्समा १६ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् । १७ विकेट लिएका सन्दीप लामिछाने पहिलो स्थानमा छन् ।
यता, रोहितकुमार पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनीले प्रभावशाली प्रदर्शन गर्यो । टोली ‘अन्डरडग’का रूपमा उदायो । पहिलो संस्करणमा सातमध्ये एक खेल जितेको थियो । तर, यसपटक नौमध्ये सात खेल जितेको छ । समूह चरणमा चार खेल जित्दै टोली प्ले अफमा पुगेको थियो । इलिमिनेटरमा बलियो काठमाडौंलाई हराएको लुम्बिनीले क्वालिफायर २ मा पनि विराटनगरलाई पराजित गर्यो ।
लुम्बिनीको फाइनलसम्मको यात्रा सहज बनाउन कप्तान रोहितकुमार नै निर्णायक रहे । रोहितले आठ इनिङ्समा २६० रन बनाएका छन् । उनले सुदूरपश्चिमका विनोदभन्दा मात्र चार रन कम बनाएका छन् । विनोद दोस्रो स्थानमा रहँदा धेरै रन बनाउनेको सूचीमा रोहित तेस्रो स्थानमा छन् । पहिलो स्थानमा पोखराका एडम रोसिङटन छन् । विनोद सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । यता, रोहितले नौ इनिङ्समा सात विकेट पनि लिएका छन् । त्यस्तै, स्पिनर शेर मल्लले १४ विकेट लिइसकेका छन् । लुम्बिनीबाट खेलिरहेका नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले पनि प्रतियोगितामा १२ विकेट लिए ।
आर्थिक दृष्टिले पनि खेल चलायमान देखियो । हरेक टिमले आठदेखि १२ करोडसम्म खर्च गरेका छन् । जबकि प्रतियोगिताको कारोबार एक अर्ब नाघ्ने अनुमान छ ।
विजेताले एक करोड १० लाख पाउने
दोस्रो संस्करणको विजेताले एक करोड १० लाख पाउने क्यानले बताएको छ । त्यस्तै, उपविजेता हुने टिमले ५१ लाख पाउनेछ । तेस्रो भएको विराटनगरले २५ लाख र चौथो भएको काठमाडौंले १५ लाख पाउने पक्का भइसकेको छ । विराटनगर क्वालिफायर २ बाट बाहिरिएको थियो । त्यसअघि नै काठमाडौं इलिमिनेटरबाट बाहिरिएको हो । क्यानले पहिलो संस्करणमा पनि यही पुरस्कार राखेको थियो । प्रतियोगिताअघि नै क्यानले पुरस्कार राशि नबढ्ने बताएको थियो ।
कार पाउन तीन खेलाडी प्रतिस्पर्धामा
एनपिएलको दोस्रो संस्करणमा पनि सर्वोत्कृष्ट खेलाडीलाई ओमोडाको कार दिइँदै छ । कार पाउने दौडमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसँगै ओपनर विनोद भण्डारी र पछिल्लोपटक कार पाएका दीपेन्द्रसिंह ऐरी छन् । त्यस्तै, क्यानले गोल्छा ग्रुपसँग सहकार्य गर्दै सर्वाधिक रनकर्ता, धेरै विकेट लिने खेलाडी र उदयीमान खेलाडीलाई पल्सर बाइक दिने घोषणा गरेको छ । लुम्बिनीका कप्तान रोहित नै यो पुरस्कारको प्रमुख दाबेदार मानिन्छन् । उनले नौ इनिङ्समा २६० रनका साथै सात विकेट लिइसकेका छन् । रोहित प्रतियोगितामा पाँच सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । दौडमा रहेका विनोदले रोहितभन्दा चार रन बढी अर्थात् २६४ रन बनाएका छन् । विकेटकिपर विनोदले १० खेलाडीलाई स्टपिङ गरेर आउट गराएका छन् । यता, दीपेन्द्रले १४९ रन बनाउनुका साथै आठ विकेट पनि लिएका छन् । त्यस्तै, उनले केही उत्कृष्ट रनआउट पनि गराएका छन् । यता, बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक १७ विकेट लिएका छन् । सुदूरपश्चिमका तीव्र गतिका बलर अभिनाश बोहराले १६ विकेट लिँदा लुम्बिनीका शेर मल्लले १४ विकेट लिए ।
विनासूचना टिकट महँगो र ब्ल्याकमा बेचेको आरोप
एनपिएलको दोस्रो क्वालिफायर्स र फाइनलमा टिकटदर दोब्बरले बढाउने क्यानको निर्णय विवादमा परेको छ । क्यानले यसअघि नै रेडबुल, एनसेल र सिद्धार्थ बैंक जोनको टिकटदर प्लेअफमा एक हजार तोकेको थियो । तर, दर्शकलाई विनासूचना र जानकारी एकाएक यी तीन जोनलाई प्रिमियम भन्दै टिकटदर दुई हजार पुर्याएको छ । जबकि प्रतियोगिताअघि क्यानले टिकटसम्बन्धी जानकारी गराउँदै चोभार एन्डको मात्रै प्रिमियम टिकट तोकिएको बताएको थियो ।
त्यसअघि लिग चरणका खेलमा भने यी तीनै जोनको टिकटदर पाँच सय रुपैयाँ थियो । लिगमा सामान्यतर्फ अन्य पाँच सय रहेको जोन १, २, ३ को भने टिकटदर पूर्ववत् नै एक हजार तोकिएको छ । यही विषयमा जेन–जी प्रतिनिधिले खेलकुदमन्त्री बब्लु गुप्तालाई शुक्रबार ध्यानाकर्षणपत्र बुझाएका छन् । उनीहरूले क्यान पदाधिकारी र टिकट विक्रेता खल्तीमाथि छानबिन र कारबाही गर्न माग गरेका छन् । महँगोमा टिकट बेचेको र त्यो पनि पहिल्यै बुक गरेर ब्ल्याकमा बिक्री गरेको दर्शकहरूको पनि आरोप छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले कार्यसमिति बैठकबाटै सिद्धार्थ, रेडबुल र एनसेल जोनलाई प्रिमियम बनाउने निर्णय भएको दाबी गरे । ‘हामीले सुरुकै बैठकबाट रेडबुल, सिद्धार्थ र एनसेल जोनलाई प्लेअफमा प्रिमियर तोक्ने निर्णय गरेका थियौँ । सोहीअनुसार प्रिमियरदर तोकेका हौँ,’ उनले भने । क्यानका पदाधिकारीले भने नाम नखुलाउने सर्तमा भने, ‘हामीले पनि खल्तीको साइटबाटै टिकटदर बढेको पछि मात्रै थाहा पायौँ । यो विषयमा कार्यसमितिलाई जानकारी नै छैन ।’ टिकट महँगो बनाइएपछि बिहीबारको लुम्बिनी लायन्स र विराटनगर किंग्सको खेलमा प्यारापिट रित्तोरित्तो थियो ।
प्रतिक्रिया