नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले प्राप्त गरेको सफलता र उपलब्धिको जस लिएजस्तै पराजय र राजनीतिक क्षतिको पनि नैतिकताका आधारमा जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ। ७७औँ कम्युनिस्ट स्थापना दिवसको सन्दर्भमा उहाँले विगत एक दशकको कार्यशैली र विशेषगरी पछिल्लो निर्वाचनको नतिजाबारे निर्मम समीक्षाको खाँचो औँल्याउनुभएको हो।
उपाध्यक्ष पौडेलले नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका कमजोरीहरूलाई लुकाउनुको सट्टा साहसका साथ स्वीकार गरी सच्याउनुपर्ने धारणा राख्नुभएको छ। उहाँले भन्नुभएको छ, “समयको पदचापलाई बुझेर समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन अब ढिला गर्नु हुँदैन।”
संविधान सभाबाट संविधान जारी भएपछिको दशकलाई विश्लेषण गर्दै पौडेलले कम्युनिस्ट पार्टीले झण्डै दुई तिहाइको सरकार बनाउन सफल भए पनि यो अवधि इतिहासकै ठूलो असफलता र पराजयको दशक बन्न पुगेको टिप्पणी गर्नुभयो। “सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा सडकमा पछारिएको छ,” उहाँले उल्लेख गर्नुभएको छ।
पछिल्लो फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको पौडेलको निष्कर्ष छ। मतदाताको ठूलो हिस्साले पार्टीलाई अस्वीकार गरेको स्वीकार गर्दै उहाँले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये ९ स्थान र समानुपातिकसहित कूल २७५ मध्ये मात्र २५ स्थानमा खुम्चिनुपरेको यथार्थ प्रस्तुत गर्नुभयो।
पौडेलले कम्युनिस्ट आन्दोलनले स्थापना कालदेखि असाधारण उपलब्धि हासिल गरे पनि पछिल्लो समय कहालीलाग्दो क्षति बेहोरेको बताउनुभयो। निरङ्कुशताको अन्त्य र समाजवादको उद्देश्यका लागि स्थापित पार्टीले आफ्नो मूल लक्ष्य नबिराई अगाडि बढ्नका लागि पुरानो कमजोरीबाट शिक्षा लिनु नै आजको मुख्य कार्यभार रहेको उहाँको ठहर छ।
प्रतिक्रिया