पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रभावशाली नेता सुदन किरातीले पार्टी परित्याग गर्नुभएको छ। बुधबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उहाँले प्रलोपाको साधारण सदस्य समेत नरहने गरी सम्बन्ध विच्छेद गरेको घोषणा गर्नुभएको हो।
पार्टी प्रवेश गरेको करिब ५ महिनापछि किरातीले सांगठनिक बाटो अलग गर्ने निर्णय लिनुभएको हो। यस अवधिमा आफूलाई सहयोग र मार्गदर्शन गर्ने नेता, कार्यकर्ता तथा कर्मचारीहरूप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसात् गरेको छु।”
सांगठनिक रूपमा अलग भए पनि पार्टीका सहकर्मीहरूसँगको व्यक्तिगत सद्भाव र मित्रवत सम्बन्ध भने कायम रहने उहाँले स्पष्ट पार्नुभएको छ। “सङ्गठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान र सद्भाव आगामी दिनमा पनि यथावत् रहनेछ,” किरातीले उल्लेख गर्नुभएको छ।
पार्टी छाडे पनि सक्रिय राजनीति र जनसेवाको यात्राबाट पछि नहट्ने उहाँको दृढता छ। आगामी बाटो चुनौतीपूर्ण हुनसक्ने स्वीकार गर्दै उहाँले सहिदका सपना र जनताको भरोसालाई केन्द्रमा राखेर अघि बढ्ने वाचा गर्नुभएको छ।
किरातीले लेख्नुभएको छ, “जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि हट्ने छैन। मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहनेछु।”
प्रतिक्रिया