काठमाडौँ । चारदलीय समाजवादी मोर्चा २८ महिनामा विघटन भएको छ । समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारण बनाउने र भविष्यमा पार्टी एकता गर्ने गरी बनेको मोर्चा विघटन भएको हो । मोर्चामा रहेका तीन पार्टी नै एकता प्रक्रियामा सहभागी भएकाले मोर्चाको औचित्य नभएको कार्यदलका पूर्वसदस्य गङ्गानारायण श्रेष्ठले बताए ।
‘समाजवादी मोर्चामा सहभागी तीन दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएकाले स्वतः विघटन जस्तै भएको छ । मोर्चाको औचित्य नै समाप्त भएको छ’, रातोपार्टीसँग उनले भने ।
२०८० साल असार ४ गते पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा घोषणा गरेका थिए । जसपा विभाजन भएपछि २०८१ सालमा साउन १ गते मोर्चाबाट बाहिरिएको थियो । सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा जोडिएको थियो । यसले ५५ जिल्ला, दुई सय पालिकामा सङ्गठन विस्तार गरेको थियो । काठमाडौँमा दुई पटक ठुला विरोधसभा आयोजना गर्नुको साथै सातै प्रदेशमा सन्देश सभा गरेको थियो ।
मोर्चाका संयोजक रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पलालले जस्तै एउटै कम्युनिस्ट केन्द्र बनाउने उद्देश्यले मोर्चा गठन भएपनि काम गर्न नसकेको बताएका छन् । कात्तिक २० गते काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै विप्लवले भने–‘पुष्पलालले बनाएको जस्तै एउटै कम्युनिस्ट केन्द्र बाउनुपर्छ भन्ने नेकपा नै हो । त्यो नीति अन्तर्गत समाजवादी मोर्चासँग सहकार्य गर्ने हामी नै हो । समाजवादी मोर्चा देशव्यापी चल्न सकेन । मोर्चा सडकमा जानुपर्थ्यो । तर सडकमा जानै मानेन । दलाली, भ्रष्टाचार, राष्ट्रघातको विरुद्ध लड्नुपर्थ्यो । तर समाजवादी मोर्चा गाँजा खाएर सुतेको बिरामी जस्तो शिथिल भयो ।’
माओवादी, एकीकृत समाजवादी लगायत १० वाम दलले १९ गते एकता घोषणा गरेका थिए । विप्लव, माओवादीबाट अलग भएका जनार्दन शर्मा, पुनर्गठित एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालबिच वामपन्थी ध्रुवीकरण गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया