वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले इरानसँग वार्ता गरिरहेको र इरान सम्झौताका लागि आतुर रहेकाे दाबी गरेका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित वार्तामा उपराष्ट्रपति जेडी भेन्स र विदेशमन्त्री मार्को रुबियो प्रत्यक्ष रूपमा संलग्न रहेको जानकारी दिए। ट्रम्पका अनुसार इरानी प्रशासनले आफूहरूले कहिल्यै पनि परमाणु हतियार निर्माण नगर्ने कुरामा सहमति जनाएको छ। यद्यपि, उनले यस्तो दाबी पहिले पनि पटक-पटक गर्दै आएका थिए ।साथै इरानसँगको शान्ति सम्झौता कति सफल होला भन्ने प्रश्नमा ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो युद्ध जितिएको छ।’
बीबीसीले उल्लेख गरेअनुसार ट्रम्पले युद्ध जितिएको दाबी गरे पनि यो द्वन्द्व वास्तवमै कसरी र कुन प्रक्रियाबाट टुङ्गिन्छ भन्नेबारे भने ठोस खाका प्रस्तुत गरेका छैनन्।
इरानमाथि लगाइएको कडा प्रतिबन्ध र क्षेत्रीय तनावका बीच ट्रम्पको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर, विपक्षी र कूटनीतिक विज्ञहरूले भने ठोस योजना बिनाको यस्तो घोषणाले अन्योल बढाउन सक्ने टिप्पणी गरेका छन्।
प्रतिक्रिया