जनकपुरधाम: स्थानीय तहले सार्वजनिक जग्गा खाली गर्न सात दिने अल्टिमेटम दिएपछि धनुषाका सुकुमबासीहरू आन्दोलनमा उत्रिएका छन्। क्षिरेश्वरनाथ नगरपालिकाले सूचना जारी गर्दै घरटहरा हटाउन निर्देशन दिएपछि त्यसको विरोधमा शुक्रबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो।
नगरपालिकाको कदमविरुद्ध सुकुमबासीहरूले महेन्द्रनगरस्थित जनकपुर–ढल्केवर सडकखण्डको पुलमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण बिहान ७ देखि ८ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले सडक अवरुद्ध हुँदा केही समय यातायात सेवा प्रभावित भएको जानकारी दिनुभयो।
क्षिरेश्वरनाथ नगरपालिकाले गत सोमबार एक सूचना जारी गर्दै वडा नम्बर १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित र सार्वजनिक जग्गामा बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको थियो। गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार यस्तो कदम चालिएको नगरपालिकाको भनाइ छ। तोकिएको समयभित्र नहटाए सुरक्षाकर्मीको सहयोगमा संरचना भत्काइने चेतावनी समेत दिइएको छ।
आन्दोलित सुकुमबासीहरूले वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई उठिबास लगाउन खोजिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। आजको प्रदर्शन सांकेतिक मात्र भएको र माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन्। एक्कासि निकालिएको सूचनाले वर्षौँदेखि बसोबास गर्दै आएका परिवारहरू अहिले त्रासमा रहेका छन्।
प्रतिक्रिया