• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगर्न नारायणकाजीको अपिल

    माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगर्न नारायणकाजीको अपिल

    नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीबीचको एकता समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दु बन्नुपर्ने बताएका छन्।

    दुई पार्टी विभाजन नहुने गरी एकता प्रक्रियामा सामेल हुने सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्ने उनको भनाइ छ। त्यसैले यसमा हतार नगरी धैर्यतापूर्वक प्रयत्न गर्न उनले अपिल गरेका छन्।

    बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन्, ‘हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।’

    यस्तो छ, उनको पूरा भनाइ-

    नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक-सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरेअनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ। हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी ) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनुपर्दछ। हाम्रो पार्टीले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो। तर यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समाष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ। त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ। हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १२, बुधबार ०८:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP