• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • आगामी महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु: गगन थापा

    आगामी महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु: गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ४ मा सोमबार बिहान नेता कार्यकर्तासँग छलफल गर्दै थापाले कांग्रेसको १५ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    ‘म अहिले पार्टीको सभापतिको १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु’, सम्बोधनका क्रममा उनले भने।

    तोकिएकै समयमा महाधिवेशन हुनु पर्नेमा जोड दिँदै उनले महाधिवेशन समयमै हुनेमा आफू विश्वास रहेको पनि बताए। ‘आगामी महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउनको लागि पनि हो,’ उनले भने, ‘त्यसका लागि क्रियाशील सदस्यको काममा ढिलाइ गर्नु हुँदैन।’

    महामन्त्री थापाले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै गर्नको लागि दबाब दिइरहेको पनि जानकारी दिए।

    उनले कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताए।

    ‘कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ,’ उनले भने। महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो पनि उनले गरे।

    ‘संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,’ उनले भने, ‘बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्छ।’

    महामन्त्री थापालले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्नेमा जोड दिए। कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने थापाले बताए।

    कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी पनि कांग्रेसको काँधमा आएको दाबी उनले गरे। महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि र रीसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको उल्लेख गर्दै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

    फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने थापाले बताए।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ७, सोमबार ०६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP