काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि विभागले उनलाई नियन्त्रणमा लिएको हो।
यसअघि विभागले सुलभका बुवा एवं शंकर ग्रुपका वरिष्ठ व्यक्तित्व शंकरलाल अग्रवाललाई शुक्रबार साँझ पक्राउ गरिसकेको छ। व्यवसायी दीपक भट्ट पक्राउ परेसँगै विभागले उनीसँगको व्यावसायिक सम्बन्ध र वित्तीय कारोबारमा जोडिएका अन्य व्यक्तिहरूमाथि अनुसन्धान तीव्र पारेको थियो। सोही क्रममा अग्रवाल बाबु–छोरा अनुसन्धानको घेरामा परेका हुन्।
सुलभ अग्रवाल यसअघि २०७६ सालमा पनि विवादमा परेका थिए। कोभिड–१९ महामारीका बेला ज्वरो नाप्ने थर्मल गन अत्यधिक महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा उनी पक्राउ परेका थिए। यद्यपि, त्यतिबेला उनलाई विभागले तारेखमा रिहा गरेको थियो।
नेपालको प्रतिष्ठित व्यावसायिक घराना मानिने शंकर ग्रुपको मुख्य लगानी जगदम्बा स्टिलमा रहेको छ। यसबाहेक यो समूहले सिमेन्ट, जलविद्युत्, होटल र एफएमसीजी (उपभोक्ता वस्तु) लगायतका विभिन्न ठूला क्षेत्रमा लगानी विस्तार गरेको छ। विभागले अहिले यो समूहको वित्तीय पारदर्शिता र सम्पत्तिको स्रोतमाथि गम्भीर अनुसन्धान गरिरहेको बुझिएको छ।
प्रतिक्रिया