• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • प्रहरीमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य वृत्तिविकास प्रणाली आवश्यक : आइजिपी कार्की

    प्रहरीमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य वृत्तिविकास प्रणाली आवश्यक : आइजिपी कार्की

    नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको मनोबल बढाएर जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्दै असाधारण अवस्थामा असाधारण अपेक्षा रहेकोप्रति आफू सजक रहेको बताए ।

    ‘देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा विभिन्न आयामका सुरक्षा चुनौतीको विश्लेषण संरचना र मनोबलका सन्दर्भमा प्राप्त जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्यप्रति म पूर्ण रूपमा जानकार र सजग छु,’ उनले भने, ‘अन्य समुदायसँग प्रभावकारी समन्वय गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै एवं प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आमजनसमुदायको जनअपेक्षाअनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    आन्दोलनपछि नेपाल प्रहरी छिट्टै पुनर्स्थापित भएको भन्दै उनले भने, ‘जेन–जी आन्दोलपछिको प्रतिकूल परिस्थितिमा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको अवस्था र छोटो समयमा प्रहरी संरचनाहरू र सेवाहरू पुनर्स्थपित गर्ने सन्दर्भमा भएको उत्साहजनक प्रगतिले नेपाल प्रहरीको सकल दर्जाको उत्कृष्ट सेवाभाव, कर्तव्यप्रतिको प्रतिबद्धता र सहनशीलतालाई फेरि एकपटक पुनर्पुष्टि गरेको छ । यो साहस र सकारात्मकता नेपाल प्रहरीको शक्ति पनि हो, जसले हामीमा सामूहिक रूपमा जस्तोसुकै समस्या र चुनौतीको समाधान र सामना गर्न सक्दछौँ भन्ने सकल दर्जामा दृढविश्वास जगाएको छ । विद्यमान अवस्थामा नेपालको सुरक्षाको आन्तरिक चुनौतीहरू र चासोहरू बहुआयामिक प्रकृतिका छन् । अन्तर्राष्ट्रिय सुरक्षाका सन्दर्भमा पछिल्ला अन्तर्राष्ट्रिय र क्षेत्रीय घटनाहरू, नेपालको भूमराजनीतिक संवेदनशीलता, प्रवासमा रहेका नेपालीहरूको संख्यामा रहेको उल्लेखनीय वृद्धि र राज्यको सुरक्षा दायित्वको निरन्तरता र अभौतिक र सीमारहित अपराधको वृद्धिजस्ता कारणहरूले गर्दा पुलिसिङको भौगोलिक क्षेत्र र दायित्वलाई अझै विस्तृत बनाएको हामी सबैलाई थाहा नै छ ।’

    देशमा आन्तरिक सुरक्षा र त्यसमा पनि प्रहरी सेवामा सुधार सुदृढीकरण आवश्यक रहेको उनले औँल्याए । प्रहरीको मनोबल उकास्न गृह मन्त्रालय र सरकारले पहल गर्नेमा आशावादी रहेको उनको भनाइ छ । प्रहरी परिचालनमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य वृत्तिविकास प्रणालीको उनले आवश्यकता औँल्याए ।

    प्रहरी सहचारीको नियुक्ति र सहरी क्षेत्रमा विशेष खालको पुलिसिङको आवश्यकता रहेको उनको भनाइ छ । संगठनमा शुद्धीकरण आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।

    चन्द्रकुवेर खापुङको अवकाशपछि कार्कीले बिहीबारदेखि प्रहरी नेतृत्व सम्हालेका हुन्। उनले २९ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन् ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २७, बिहीबार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP