ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् । मन्त्री घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नुपरेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएकोजस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुलको निर्माणको अनुगमन गरेका छन् ।
तराई–मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि ०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण ०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौँपठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ ।
पुल निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले यो पुल समग्र मधेश क्षेत्रको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकोले तीव्र गतिमा निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता जनाए । उनले यो पुल बन्छ, हामी बनाउँछौँ भन्दै विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेकोमा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिनेसमेत बताए। पुल निर्माणलाई छिटो सम्पन्न गर्नुपर्ने स्थानीयको माग थियो । अनुगमनकै क्रममा मन्त्री घिसिङ धनुषाबाट डुंगा चढेर पारि सिराहा पुगेका थिए। जहाँ युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग भेट गरी संयुक्त रूपमा पुल निर्माणको निरीक्षण गरे।
हालसम्म २० करोड ४३ लाख (भ्याटसहित) भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमश : ८३ र ८२ प्रतिशत रहेको छ। १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्नेछ।
१७ असार ०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेको थियो । क्षति पुगेका स्ल्याबमध्ये दुईवटा हटाइएको छ भने दुईवटा हटाउन बाँकी छन् । विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तयार गरी स्वीकृत गरिएको छ।
चारवटा स्ल्याबमध्ये सिराहापटिको दुईवटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको दुई मिटर स्टिम ढलान भई बाँकी दुईवटा स्पानलाई दह्रो बनाउने काम बाँकी रहेको छ । स्वीकृत परिमार्जित डिजाइनबमोजिम पुल निर्माण तथा पुनर्स्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया