नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी निर्वाचनमा अहिले (बुधबार बिहान ११:३० बजे) सम्म ३८० मत खसेको छ।
भोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो।
मेसिन प्रयोग गरिए पनि मतदानमा धेरै समय लागिरहेको गुनासो मतदाताले गरेका छन्।
मत हालेर निस्किएका एकजना एमाले महाधिवेशन प्रतिनिधिले नेपालखबरसँग भने, ‘जान्नेलाई पनि २५ देखि ३० मिनेट लाग्छ। नाम लिस्ट हेर्नुपर्ने व्यक्तिलाई त ५० मिनेटसम्म लाग्छ।’
अशक्तहरूलाई प्राथमिकता दिएर अगाडि मत खसाल्ने व्यवस्था मिलाइएको छ भने आफैँ मत हाल्न नसक्नेहरूले सहयोगका लागि इच्छाएको व्यक्ति रोज्न पाउँछन्।
एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।
जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।
अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० जनाजति उम्मेदवार छन्।
यसरी भइरहेछ मतदान
टच स्क्रिन डिस्प्ले : मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ। टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि उम्मेदवारको फोटोमा स्वस्तिक चिह्न देखिन्छ। यो मतदान सदर भयो भन्ने संकेत हो।
क्रमैसँग मतदान : निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ। जस्तो : अध्यक्ष, उपाध्यक्ष, महासचिव… क्रमैसँग।
सफल भएको सन्देश : सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडिओ सन्देश आउँछ।
कहिले आउला मतपरिणाम?
मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्दैन। मेसिनमा मतदान हुने भएकाले ८० वटा मेसिनमा भएको मत संख्या जोड्दा, निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टा समय लाग्न सक्छ।
प्रतिक्रिया