काठमाडौँ। नेकपा (एमाले)का सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले नेपालकै बढी गर्मी हुने शहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताएका हुन्। अत्यधिक गर्मीको समयमा विद्युत सेवा भरपर्दो नहुँदा नागरिकको दैनिक जीवनयापन र बसाइ कठिन भएको उल्लेख गर्दै उनले यस विषयमा सरकार तत्काल गम्भीर हुनुपर्नेमा जोड दिए।
सभामुखमार्फत सरकारको विशेष ध्यानाकर्षण गराउँदै सांसद राईले बाँकेलगायतका गर्मी क्षेत्रमा देखिएको विद्युत्को प्राविधिक समस्या तत्काल समाधान गरी आपूर्ति सहज बनाउन माग गरेका छन्। नेपालगञ्जमा अहिले विद्युतको अवस्था निकै दयनीय रहेको र लो भोल्टेज तथा छिनछिनमा बत्ती काटिने समस्याले आम नागरिक प्रताडित बनेको उनको भनाइ छ। बढ्दो तापक्रमबीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत ठूलो असर पुगेको भन्दै सांसद राईले जनतालाई राहत दिन सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रतिक्रिया