२०८३ कात्तिक १३,
काठमाडौँ — जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाका सम्बन्धमा अन्तिम निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। संसदीय सुनुवाइ समितिका उपसचिव जगदिश न्यौपानेले सूचना जारी गर्दै असोज १६ गते दिउँसो ३ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक बोलाइएको जानकारी दिएका छन्।
बैठकको मुख्य कार्यसूचीमा जापानका लागि प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ तथा निर्णय प्रक्रिया समावेश छ। यसअघि समितिले थापाविरुद्ध परेको उजुरीका आधारमा उनको सुनुवाइ प्रक्रियालाई ‘होल्ड’मा राखेको थियो।
थापामाथि जापानको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको, त्यहाँको स्थानीय सरकारमा रहेर काम गरेको तथा सरकारी कोषबाट सुविधा लिएको भन्दै उजुरी परेको थियो। सो विषय स्पष्ट पार्न संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग दुई पटक पत्राचार गर्दै आधिकारिक विवरण माग गरेको थियो। तर, यसबारे जापान सरकारबाट हालसम्म कुनै ठोस जानकारी प्राप्त नभएको जनाइएको छ।
सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गरेको थियो। प्रस्तावित १३ जनामध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट स्वीकृत भइसकेको छ भने दुई जनाको नाम अस्वीकृत भइसकेको छ। अब जापानका लागि प्रस्तावित थापाको नाममा मात्रै समितिले निर्णय गर्न बाँकी रहेको छ।
प्रतिक्रिया