• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • आयल निगमको लापरबाहीले देशभर इन्धन वितरण ठप्प

    आयल निगमको लापरबाहीले देशभर इन्धन वितरण ठप्प

    आइतबार बिहानदेखी देशभरका करिब १६ सय पेट्रोलपम्पमा इन्धन वितरण ठप्प
    नेपाल आयल निगमको चरम व्यवस्थापकीय लापरबाहीले आइतबार बिहानदेखि देशभरका करिब १६ सय पेट्रोलपम्पमा इन्धन वितरण ठप्प भएको छ ।

    पेट्रोलपम्प सञ्चालकले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सिस्टमबाट खरिद गर्ने इन्धनको परिमाण माग गर्ने र सोही प्रणालीमार्फत इन्धन खरिदबापतको रकम भुक्तानी गर्दै आएका छन् । तर, आइतबार बिहानदेखि इआरपी सिस्टम बन्द छ ।

    प्रणाली बन्द हुँदा व्यवसायीले आज बिक्री गर्ने इन्धनको माग परिमाण सिस्टममा इन्ट्री गर्न पाएका छैनन् । प्रत्येक आइतबार सबैभन्दा धेरै इन्धन बिक्री हुने गर्छ । शुक्रबार खरिद गरेको तेल शनिबार दिनभर बिक्री गर्ने भएकाले अधिकांश पम्पको आइतबार बिहानसम्म भण्डारणसमेत रित्तिने गरेको छ । त्यसैले आइतबार बिहान माग परिमाण टिपाउने र दिउँसोसम्म पम्पमा तेल लगेर बिक्री गर्ने गरिन्छ । तर, अहिलेसम्म प्रणाली बन्द भएकाले माग टिपाउने र भुक्तानी गर्ने दुवै काम रोकिएको व्यवसायीले बताएका छन् ।

    ‘इआरपीमा तेलको माग गर्ने र भुक्तानी गर्ने कार्य हुन सकेको छैन । त्यसैले पम्पमा पेट्रोल र डिजेल ल्याउने स्थिति बनेको छैन,’ पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने । इआरपी प्रणालीमा खराबी आएको यो पहिलोपटक भने होइन ।

    पाँच वर्षअघिबाट सञ्चालनमा आएको प्रणालीमा बारम्बार समस्या आउँदा इन्धन वितरण रोकिने, कर्मचारीको हाजिरी हराउने, आर्थिक कारोबारमा गडबडी हुनेलगायतका समस्या देखिएका छन् ।

    निगम स्रोतका अनुसार इआरपी प्रणालीको वार्षिक शुल्क भुक्तानी गरेर नवीकरण गर्न ढिलाइ भएकाले यसपटक ‘सिस्टम डाउन’ भएको हो । व्यवस्थापनले नवीकरण शुल्क भुक्तानी गर्न ढिलाइ गरेपछि इआरपी परियोजनाका प्रमुख राजन नेपालले एक महिनाअघि नै राजीनामा दिइसकेका छन् । तर, उनको राजीनामा स्वीकृत भइसकेको छैन।

    परियोजना प्रमुखविहीन भएको अवस्थामा इआरपीले तत्कालै काम नगरे देशभर पेट्रोल, डिजेलको आपूर्तिमा समस्या हुने व्यवसायीको चिन्ता छ । दैनिक करिब ८० लाख लिटर पेट्रोल र डिजेलको खपत छ । सो परिमाणबराबरको तेल निगमका डिपो भित्र ट्यांकरमा लोड गर्ने, ढुवानी गरेर सम्बन्धित पम्पमा लैजाने र पम्पले अनलोडिङ गरी बिक्री गर्ने भएकाले बिहानदेखि सो कार्य थालनी हुनुपर्ने भए पनि प्रणाली बन्द भएकाले अहिलेसम्म सबै काम ठप्प छ ।

    करिब २७ करोड खर्चेर तयार गरिएको इआरपी प्रणाली जडानमा आशंकासमेत उब्जिएको छ । त्यसले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान अघि बढाएका छन् । ठुलो रकम खर्चे पनि तोकिएकाे गुणस्तरअनुसारको सामग्री जडान नभएकाले बारम्बार समस्या आइरहेको अख्तियारको आशंका छ ।

    त्यस्तै, इआरपी परियोजनाका कर्मचारीहरू कार्यालयमा नआए पनि अन्य कर्मचारीले हाजिरी गरिदिने र दिनहुँ ओभरटाइमको हाजिरी गरेर भत्ता बुझ्ने गरेको विगतबारे पनि अख्तियारले चासो राखेको छ ।

    उता, निगमका केही उच्च व्यवस्थापकीय अधिकारीहरूले भने हालको इआरपी प्रणालीलाई निरन्तरता दिँदा भविष्यमा झन् जोखिम आउन सक्ने तर्क गर्दैै नयाँ प्रणालीको खाेजी गर्न थालेका छन् । केही दिनअघि निगमका अधिकारीहरू भारत गएर नयाँ प्रणाली निरीक्षणसमेत गरेर आएका छन् ।

    बिचौलियाकाे एउटा समूहले निगम अधिकारीलाई प्रयोग गर्दै अहिलेको प्रणाली फाल्ने र नयाँ प्रणाली जडान गर्न प्रलोभन देखाइरहेको स्रोतको भनाइ छ । अहिले निगमका ती अधिकारीहरू इआरपी प्रणालीमा बारम्बार समस्या ल्याएर नयाँ जडानको वातावरण बनाउन क्रियाशील रहेको स्रोतको भनाइ छ ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १४, आईतवार ०६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP