काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर आइतबार ३३औँ मदन–आश्रित स्मृति दिवस मनाएको छ। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा भण्डारीको उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएकाले यसलाई उनीहरूबीचको दूरी घटाउने रणनीतिका रूपमा विश्लेषण गरिएको छ। कतिपयले यसलाई पार्टीभित्रको समीकरण परिवर्तनको सङ्केतका रूपमा समेत लिएका छन्। पछिल्लो समय एमालेभित्र पुस्तान्तरण र रूपान्तरणको आवाज बलियो बन्दै गएको छ। ओलीनिकट मानिने उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल नै नेतृत्वको विकल्पको खोजीमा उभिएपछि अध्यक्ष ओलीले भण्डारीसँगको निकटता बढाएको अनुमान गरिएको छ।
निवासमै आराम गर्दै अध्यक्ष ओली स्मृति दिवसको मुख्य कार्यक्रममा अध्यक्ष ओली भने सहभागी भएनन्। ‘जेनजी’ आन्दोलनको दमनमा दोषी रहेको आरोपमा पक्राउ परी रिहा भएयता ओली सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। ओलीनिकट स्रोतका अनुसार उनी पत्थरी र हर्नियाको शल्यक्रियापछि हाल भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन्।
यसअघि गत वैशाख २७ गते पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच गुन्डु निवासमै लामो भेटवार्ता भएको थियो। अर्कातर्फ, ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि संवाद बढाएका कारण कम्युनिष्ट एकताको नयाँ चर्चा सुरु भएको छ। स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले सामाजिक सञ्जालमा मदन भण्डारीसँगको विगत सम्झँदै भावुक स्टाटस समेत लेखेका छन्। उनले लेखेका छन्, “घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्। अभावहरू झन् गहिरिँदा रहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी र सहयोद्धा– सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो।”
तिक्तता चिर्दै राजनीतिक पुनरागमनको सङ्केत विगतमा ओली र भण्डारीबीच लामो समय निकै बलियो सम्बन्ध थियो। ओलीकै नेतृत्वमा भण्डारी दुई पटक पार्टी उपाध्यक्ष र दुई पटक मुलुकको राष्ट्रपति बन्न सफल भएकी थिइन्। तर, राष्ट्रपति पदबाट हटेपछि भण्डारीले राजनीतिमा सक्रिय हुने र पार्टी नेतृत्व दाबी गर्ने इच्छा देखाएपछि ओलीसँगको सम्बन्धमा दरार आएको थियो।
त्यस क्रममा भण्डारीको पार्टी सदस्यता नवीकरण रद्द गर्नेसम्मका गतिविधि भएपछि दुई नेताबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो। २०८२ भदौमा भएको विधान महाधिवेशनमा समेत भण्डारीलाई निषेध गरिएपछि उनले पार्टीभित्र आफ्नै समूह निर्माण गरेकी थिइन्। एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएर ओलीसँग प्रतिस्पर्धा गराउनेसम्मको रणनीति भण्डारी समूहले बनाएको थियो। तर, पछिल्लो बदलिँदो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक दबाबका कारण ओली र भण्डारी पुनः एक ठाउँमा उभिने सङ्केत देखिएको छ।
प्रतिक्रिया