काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवाद टुंगिने दिशामा अगाडि बढेको छ ।
गत बिहीबारदेखि सभापति शेरबहादुर देउवाको नेतृत्वमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरू बालकृष्ण खाण र रमेश लेखकको सक्रियता भएको छलफलबाट पार्टीको १५औँ महाधिवेशनबारेको विवाद समाधान उन्मुख भएको हो ।
नेताहरूका अनुसार प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मध्यमार्गी प्रस्तावमा टुंगिन लागेको छ ।
सोमबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पुस अन्तिम साता महाधिवेशन गर्ने मध्यमार्गी प्रस्ताव पेस गर्ने तयारीमा नेताहरू जुटेका छन् ।
पुस २५, २६ वा २७ गतेदेखि सुरु हुने गरी महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा प्रस्ताव गर्ने गरी नेताहरू गृहकार्य गरिरहेका हुन् ।
आइतबार सभापति देउवा निवासमा भएको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पुस १० गते आसपास वडा अधिवेशन सुरु गरेर ढिलोमा पुस २७ गते केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिकाको तयारीमा नेताहरू लागेका छन् । कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन कार्यतालिका पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने छन् ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने कार्यतालिका आज बस्ने केन्द्रीय कार्यसमितिमा पेस गर्ने सहमति नेताहरूबिच जुटेको जानकारी दिए ।
‘लामो समयको विवाद मिलाउन हामी सफल भएका छौँ । पुस अन्तिम साता पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिका आजको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने तयारी छ,’ विश्वकर्माले रातोपाटीसँग भने ।
२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । पार्टी विधान अनुसार हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन गर्ने बाध्यकारी व्यवस्था छ । त्यो समय भन्दा अगाडि नियमित महाधिवेशन गरेर विशेष महाधिवेशनको प्रस्तावलाई निस्तेज पार्ने तयारी नेताहरूको छ ।
महाधिवेशन फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद कांग्रेसमा थियो । पार्टीभित्रको संस्थापन समूहले अहिले निर्वाचनको तयारीमा लाग्ने र महाधिवेशन निर्वाचनपछि गर्ने बताउँदै आएको थियो । महामन्त्रीद्वय थापा र शर्मा समूहले भने महाधिवेशन गरी नयाँ नेतृत्व लिएर निर्वाचनमा जानुपर्ने बताउँदै आएको थियो । यही विवादले गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले निकास दिन सकेको थिएन ।
विशेष महाधिवेशनको बाध्यताका कारण नेताहरू निर्वाचन अगावै महाधिवेशन गर्न राजी भएका छन् । तथापि अझै नियमित महाधिवेशनको कार्यतालिका पास भएपछि विशेष महाविधेशनको प्रस्ताव फिर्ता लिने नलिनेमा भने अझै पूर्ण सहमति नेताहरूबिच बनेको छैन ।
विशेष महाधिवेशन पक्षधर हस्ताक्षर फिर्ता नहुने र घोषित मितिमा महाधिवेशन नभए स्वतः ब्युँतिने बताइरहेका छन् । संस्थापन भने सबै विषय कानुनी मात्रै नभई राजनीति र सहमतिका आधारमा पनि अगाडि बढ्नुपर्ने बताइरहेको छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको नेतृत्व गरेका नेता गुरुराज घिमिरे नियमित महाधिवेशन भए स्विकार्ने तर महाधिवेशन सम्पन्न नहुने बेतासम्म हस्ताक्षर फिर्ता नलिने बताउँछन् ।
‘नियमित महाधिवेशन भयो भने हामी स्विकार्छौँ । कार्यतालिका र प्रक्रिया सुरु भएर मात्रै हुँदैन, महाधिवेशन सम्पन्न हुनुपर्छ,’ घिमिरेले रातोपाटीसँग भने, ‘महाधिवेशन सम्पन्न नहुने अवस्था आयो भने बिचमै हस्ताक्षर ब्युँतिन्छ । विशेष महाधिवेशन हुन्छ ।’
संस्थापनले भने पुसमा महाधिवेशन गर्नका लागि विशेषको प्रस्ताव फिर्ता लिनुपर्ने बताइरहेको छ नि भन्ने रातोपाटीको प्रश्नमा घिमिरेले भने, ‘महाधिवेशन भयो भने स्वतः निस्तेज भइहाल्छ । भएन भने ब्युँतिन्छ । उहाँहरू त्यो प्रस्तावबाट ब्याक भइसक्नुभयो ।’
तर, प्रचार विभाग प्रमुख विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको प्रस्तव फिर्ता लिए सरह भइहाल्ने बताए । ‘सहमतिमा महाधिवेशनको कार्यतालिका आयो भने विशेषको प्रस्ताव फिर्ता लिए सरह भइहाल्यो,’ विश्वकर्माले भने, ‘विशेष भनेको स्थानमा नियमित महाधिवेशन गर्ने हो । त्यसपछि त फिर्ता हुन परिहाल्यो नि ।’
घोषित मितिमा महाधिवेशन नभए स्वतः ब्युँतिहाल्छ भन्ने विशेष महाधिवेशन पक्षधरको कुरा छ नि भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘पार्टीभित्र सबै कानुनी कुरा मात्र हुन्नन् । राजनीतिका कुरा पनि हुन्छन् । सहमतिका कुरा पनि हुन्छन् ।’
उनले घोषित मितिमा महाधिवेशन हुने नहुने भन्ने विषय प्रतिनिधिसभा निर्वाचनको माहौलमा भर पर्ने बताए । ‘प्रतिनिधिसभा निर्वाचनको माहौल ह्वात्तै बढ्यो र पार्टीको शक्ति त्यता परिचाल गर्न प-यो भने फरक कुरा हो । हामीले राजनीति गर्ने निर्वाचन जित्नका लागि नै हो,’ विश्वकर्माले भने, ‘निर्वाचनले बाधा पु-याएन । कुनै कारणले निर्वाचन प्रभावित भयो भने घोषित मितिमै महाधिवेशन हुन्छ ।’
पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला असहमत छन् । यो प्रस्तावको उनीहरूले खुलेरै विरोध गरिरहेका छन् ।
पूर्वउपसभापति निधिले अहिले निर्वाचनको तयारी गर्नुपर्ने र निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा रहेको बताए । ‘राजनीतिक दलका लागि निर्वाचन महत्त्वपूर्ण कुरा हो । पहिला निर्वाचनको तयारी गर्ने, निर्वाचन सम्पन्न भएपछि महाधिवेशन गर्ने मेरो धारणा हो,’ निधिले रातोपाटीसँग भने ।
चुनावअघि महाधिवेशन गर्दा त्यसले आम चुनावलाई असर पार्ने निधिले बताए । चुनाव सकेर वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने उनको भनाइ छ ।
प्रतिक्रिया