सामान्य पानी पर्नासाथ सडक हिलाम्य र चिप्लो भएर गाडिहरु फस्ने र घाम लाग्नासाथ धुलाम्य भएर हिँड्नै नसकिने अवस्था सिर्जना भएपछि दाउन्ने सडक पुस १५ सम्मका लागि एकतर्फी गरिएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको दाउन्ने खण्डमा बाँकी रहेका कल्भर्डहरु निर्माण गर्न र ढलान गर्न तयारी अवस्थामा रहेका क्षेत्रहरुमा ढलान सक्नका लागि एकतर्फी गरिएको हो ।
सडक विभागका प्रमुख इन्जिनियर चुडाबहादुर ढकालले दाउन्ने लगातारको जाम र सवारी साधनको चापले काम गर्न नसकिएका कारण सडक एकतर्फी गरिएको बताए । उनका अनुसार यो अवधिमा भारतबाट आउने र भारत जाने ठूला मालबाहक लरी जस्ता सवारी साधनहरुलाई अन्य बाटो प्रयोग गराइने छ । नारायणघाट–बुटबल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै पुष १५ गतेसम्म सडक एकतर्फी मात्र सञ्चाल हुने जनाएको हो ।सूचनामा यो अवधिमा कलभर्टहरू निर्माणाधिन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको बताइएको छ ।
त्यसैले उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अर्थात कम्तिमा पुष १५ गतेसम्म सडक पूर्ण रुपमा सञ्चालन नहुने सूचनामा उल्लेख छ । यहाँ कम्तिमा ४ स्थानमा कल्भर्ड निर्माणको कामले चार ठाउँमा सडक एकतर्फी रहेको छ भने सडक ढलान भईरहेको ठाउँहरुमा पनि सडक एकतर्फी रहेको छ । त्यसैगरी केही दिनअघि आकस्मिक रूपमा भएको निरन्तर वर्षाले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा थप समस्या हुने भन्दै झण्डै दुई महिना एकतर्फी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
सडक आयोजनाले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न पनि सबै सित आग्रह गरेको छ। दाउन्नेको यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न सडक आयोजनाको आग्रह छ। बाटो असहज हुँदा सवारी साधनको बाक्लो जाम हुने गरेको छ । सडकको अवस्थाबारे प्रहरीले बेलैमा जानकारी नगराउने र सडक आयोजनाले पनि बेलैमा जानकारी नगराउँदा यात्रुहरुले निकै सास्ती पाउने गरेका छन् ।
यो सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरेर मात्र यात्रा गर्न पनि सडक आयोजनाले सबैसित अनुरोध गरेको छ। दुईदिन अघिसम्म परेको झरीका कारण दाउन्ने सडक खण्ड निरन्तर अवरोध भइरहेको छ । जसका कारण यात्रुहरुले १४ किलोमिटरको दाउन्ने खण्ड पार गर्न घण्टौं लाग्ने गरेको गुनासो गरेका छन् ।
पाँच दिनसम्म सडक अनियमित
पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा खण्डमा २ दिनको पानीले पाँच दिन यातायात प्रभावित बन्यो । मंगलबार बिहानबाट भने यात्रा सहज भएको छ । बाटो हिलो र चिप्लोले उकालोमा सवारी साधन उक्लन नसक्दा ठाउँठाउँमा सवारी साधन विग्रिएर बसेका छन् जसले गर्दा दाउन्ने सडक खण्डमा लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दाउन्नेको १४ किलोमिटर सडक पार हुन बस तथा ठूला सवारी साधनलाई अहिले ८ देखि १० घण्टा लाग्ने गरेको थियो । दुम्किबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म करिब १० किलोमिटर लामो सवारी साधनको लामो लाइन लागेको थियो । सोमबार दिउँसोबाट यात्रा केही सहज भएको थियो भने मंगलबार विहानसम्म जाममा फसेका सवै सवारी साधन पास भएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार मंगलबार विहानदेखि दाउन्ने सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ। उनले भने – हेबी लोड बोक्ने सवारी साधनहरुले वैकल्पिक बाटो प्रयोग गर्दा उपयुक्त हुन्छ । सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दसैँ अगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडक खण्ड मध्य पश्चिम खण्डको ३ किलोमिटर मात्र पूर्ण रुपमा कालो पत्रे भएको छ भने केही ठाउँमा ठलानको काम सकिएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची र खाल्टाखुल्टी रहेको छ ।
प्रतिक्रिया