• २०८३ बैशाख ८ | Tue, 21 Apr 2026

  • ‘म्युजिकल चेयरको सिण्डिकेट तोड्न वैकल्पिक शक्ति एक हुँदैछौं’

    ‘म्युजिकल चेयरको सिण्डिकेट तोड्न वैकल्पिक शक्ति एक हुँदैछौं’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले वैकल्पिक शक्तिहरूलाई एक बनाउन म्याराथन शैलीमा भेटघाट गरिरहेका छन् । बुधबार र बिहीबार बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेसहित ४० भन्दा बढी व्यक्ति र जेनजी अभियन्ताहरूसँग बैठक गरे । त्यसमा जेनजी फ्रन्टकी संयोजक रक्षा बम पनि सहभागी थिइन् ।

    बमसँग बालेनले एकल र सामूहिक गरी तीन पटकसम्म छलफल गरे । जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी बम कुनै समय मेयर बालेनले फुटपाथ व्यवसायीहरुलाई ज्यादती गरेको भन्दै चर्को आलोचना गरेकी थिइन् । उनीहरुको समूहलाई ‘चमेली ग्याङ’को समेत संज्ञा दिइएको थियो ।

    अब बम विगतका वैचारिक द्वन्द्व र ‘चमेली ग्याङ’ जस्ता उपमाहरूलाई बिर्सिएर देश रूपान्तरणका लागि बालेनसँग एउटै साझा धरातलमा उभिने भएकी छन् । बिहीबार दिउँसो भएको भेटघाट र त्यसको अन्तर्यको विषयमा अभियन्ता बमसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :

    काठमाडौँका मेयर बालेन शाहसँग तपाईंको भेटघाट भयो, के कुराकानी भयो ?

    बालेनजीसँगको त्यो भेट मेरा लागि एउटा सुखद् सपना जस्तो लागिरहेको छ । राजनीतिमा लागेपछि कहिलेकाहीँ आफूले नसोचेका मोडहरू पनि आउँदा रहेछन् । हाम्रो भेटघाट निकै सौहार्द्धपूर्ण, उत्साहजनक र सकारात्मक रह्यो । यसले मुख्यतया के सन्देश दिएको छ भने देश परिवर्तनका लागि समान सोच भएका व्यक्तिहरू ढिलोचाँडो एक ठाउँमा उभिनैपर्छ । बालेनजीको ऊर्जा र कामप्रतिको लगावलाई नजिकबाट बुझ्ने मौका यस पटक मिल्यो, जसले मलाई थप उत्साहित बनाएको छ ।

    कुनै समय तपाईंहरूलाई बालेनविरुद्धको ‘चमेली ग्याङ’को संज्ञा समेत दिइएको थियो । तपाईंहरूबिच ठुलो वैचारिक द्वन्द्व र आलोचना थियो । यो बिन्दुमा कसरी आइपुग्नुभयो ?

    हो, विगतमा केही विषयलाई लिएर हामीबिच कडा आलोचना र मतभेदहरू थिए । लोकतन्त्रमा आलोचना हुनु स्वाभाविक पनि हो । तर राजनीति सधैँ एउटै बिन्दुमा स्थिर रहँदैन, समय र परिस्थिति अनुसार यसले नयाँ मोड लिन्छ । अहिले देशको अवस्था र आवश्यकता फेरिएको छ ।

    हामीले बुझ्यौँ कि स–साना मतभेदमा अल्झिएर बस्नुभन्दा देशका लागि एउटा बलियो साझा धरातल निर्माण गर्नु जरुरी छ । हामीले अहिले त्यही साझा धरातल भेटाएका छौँ, जहाँ हाम्रा पुराना तिक्तताहरू भन्दा देश बनाउने एजेन्डाहरू बलिया भएका छन् ।

    बालेन शाह र तपाईंहरुबिच हुन लागेको राजनीतिक जग चाहिँ केलाई मान्नुहुन्छ ?

    यस सहकार्यको सबैभन्दा बलियो र मुख्य जग भनेको इमानदारिता हो । हामी दुवै पक्षको साझा संकल्प भनेको भ्रष्टाचारमुक्त मुलुक र सुशासनको स्थापना हो । दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेको विकृति र विसङ्गति विरुद्ध लड्न हामीसँग इमानदारिता बाहेक अर्को ठुलो हतियार छैन । बालेनजीले महानगरमा देखाउनुभएको कार्यदक्षता र मेरो राजनीतिक इमानदारितालाई मिसाएर एउटा नयाँ शक्ति निर्माण गर्ने हाम्रो प्रतिबद्धता नै यसको जग हो ।

    तपाईंले नेपाली राजनीतिमा ’जेनेरेसनल कोर्स’को कुरा उठाउनुभएको छ, यसलाई अलि स्पष्ट पारिदिनुस् न ?

    यो भनेको मैले नेपाली राजनीतिमा दशकौँदेखि कायम रहेको तीन जना पुराना नेताहरूको सिन्डिकेटलाई भन्न खोजेकी हुँ । नेपालको सत्ता र शक्ति विगत ३०–४० वर्षदेखि तिनै तीन जना ‘टाउके’ नेताहरूको वरिपरि मात्र घुमिरहेको छ । यो एउटा यस्तो दुष्चक्र भएको छ कि नयाँ विचार र नयाँ पुस्ताले ठाउँ नै पाउन सकेका छैनन् । यसलाई नतोडेसम्म देशले निकास पाउँदैन भन्नेमा बालेनजी र मेरो एउटै मत छ । यो तोड्न अब नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।

    बालेन शाहको इमानदारिता र कार्यशैलीका बारेमा तपाईंको बुझाइ र उहाँको आफ्नै दाबी के रहेछ ?

    बालेनजीले निकै आत्मविश्वासका साथ भन्नुभएको छ कि उहाँले महानगरको नेतृत्व सम्हालेदेखि अहिलेसम्म कति पनि तलमाथि नगरी पूर्ण इमानदार भएर काम गर्नुभएको छ । उहाँको एउटै कुरा छ, यदि उहाँको काममा कतै पनि त्रुटि वा भ्रष्टाचारको गन्ध हुन्थ्यो भने अहिलेसम्म अख्तियार वा अन्य राज्यका निकायहरूले उहाँलाई चुप लागेर बस्न दिने थिएनन् । उहाँको यही स्वच्छ छवि र काम गर्ने आत्मविश्वास नै उहाँको सबैभन्दा ठुलो शक्ति हो । उहाँ ‘अन्डर प्रमिस, ओभर डेलिभरी’ अर्थात् कम बोल्ने र धेरै काम गर्ने सिद्धान्तमा विश्वास गर्नुहुन्छ, हामीलाई पनि त्यही ब्रिफिङ गर्नुभयो ।

    रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूसँगको सहकार्यका बारेमा बालेनजीको दृष्टिकोण कस्तो पाउनुभयो ?

    बालेनजीको दृष्टिकोण एकदमै स्पष्ट छ- देशमा भएका सबै वैकल्पिक र सकारात्मक शक्तिहरू एक हुनुपर्छ । रवि लामिछानेजी र कुलमान घिसिङजी जस्ता व्यक्तिहरू जसले आ–आफ्नो क्षेत्रबाट देशका लागि केही गरिरहनुभएको छ, उहाँहरूसँग पनि निरन्तर संवाद भइरहेको छ । उहाँहरू पनि मिलेर जान इच्छुक हुनुहुन्छ । हामी सबैको एउटै लक्ष्य भनेको छरिएर रहेका शक्तिहरूलाई एकीकृत गरेर पुरानो राजनीतिक बेथिति विरुद्ध एउटा विशाल मोर्चा बनाउनु हो ।

    अन्य जेनजीले बालेनको अभियान कसरी लिएका रहेछन् त ?

    नयाँ पुस्ताका साथीहरू अहिलेको परम्परागत राजनीतिबाट दिक्क भइसकेका छन् । उनीहरू बालेनजीको काम गर्ने शैली, साहस र स्पिरिटबाट निकै प्रभावित छन् । हाम्रो समूहको मुख्य उद्देश्य नै नयाँ पुस्ताको भावना र आधुनिक सोचलाई मूलधारको राजनीतिमा जोड्नु हो । युवाहरू अब भोटर मात्र होइन, निर्णायक शक्ति बन्न चाहन्छन् । बालेनजीको अभियानमा युवाहरूको यो साथ र समर्थन नै परिवर्तनको मुख्य संवाहक हुनेछ ।

    बालेन शाह अब प्रधानमन्त्रीको उम्मेदवार बन्ने चर्चा छ, तपाईंहरुलाई पनि उहाँले त्यही भन्नुभएको हो ?

    बालेनजी अहिले एउटा ठुलो जोखिम लिएर एक्लै मैदानमा निस्कनुभएको छ । बाहिर उहाँ प्रधानमन्त्री बन्ने चर्चा चल्नु स्वाभाविक हो, किनकि जनताले विकल्प खोजिरहेका छन् । तर उहाँको मुख्य ध्यान अहिले पदभन्दा पनि देशलाई सही दिशा दिने र राजनीतिक प्रणालीमा सुधार ल्याउने कुरामा केन्द्रित छ । यदि देशको अवस्था सुधार्न र विद्यमान बेथिति अन्त्य गर्न नेतृत्व लिनुपर्ने अवस्था आएमा उहाँ पछि हट्नुहुने छैन, तर उहाँको प्राथमिकता सधैँ डेलिभरी र सुशासन नै हो भनेर हामीलाई भन्नुभयो । उहाँले अब राजनीति गर्ने भनेपछि गर्ने भन्ने शैलीमा आउनुभएको देखिन्छ ।

    तपाईंको चाहिँ राजनीतिमा आउने कुरा के हो, भूमिका के हुनेछ ?

    हो, मैले अब औपचारिक रूपमा सक्रिय राजनीतिमा पाइला चाल्ने निर्णय गरेकी छु । मेरो राजनीतिक यात्राको मुख्य उद्देश्य नै नेपाली राजनीतिमा इमानदारिता स्थापित गर्नु हो । म कुनै ठुलो पदको लोभमा भन्दा पनि एउटा इमानदार मानिस बनेर वैकल्पिक शक्तिहरूलाई बलियो बनाउन आउन लागेकी हुँ । पुरानो राजनीतिक सिन्डिकेट र सत्ताको ‘म्युजिकल चेयर’ तोड्नु नै हाम्रो भूमिका हुन्छ ।

    देशका अन्य वैकल्पिक राजनीतिक शक्तिहरुको कुरा चाहिँ के छ ?

    अब हामी फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । राजनीतिक सिद्धान्त र विचार मिल्ने सबै वैकल्पिक शक्तिहरू अब एउटै टेबुलमा बस्ने बेला पनि आएको छ । समाजका हरेक सरोकारवाला, बौद्धिक वर्ग र युवाहरूले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । यदि हामीले अहिले पनि यो ‘जेनेरेसनल कर्स’ तोड्न सकेनौँ भने आउने पुस्ताले हामीलाई धिक्कार्नेछ ।

    तपाईं सक्रिय राजनीतिमा आए जेनजी फ्रन्टको चाहिँ के हुन्छ ? कि सबै सदस्य समाहित हुने हो ?

    त्यस्तो होइन । राजनीतिमा आउने साथीहरु राजनीतिमा सक्रिय हुन्छ्न । फ्रन्ट आफ्नो हिसाबले चलिरहन्छ । ’जेनजी फ्रन्ट’ भनेको नयाँ पुस्ताको भावना, आधुनिक सोच र प्रविधिलाई राजनीतिसँग जोड्ने एउटा सशक्त मञ्च हो । यो हामी जहाँ भएपनि आफ्नो हिसाबले गतिविधि गरिरहन्छ । फेरी सबै जना राजनीतिक दलमै आउँछन भन्ने पनि छैन नि ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ११, शुक्रबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP