काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा सम्पर्कविहीन भएका कर्मचारी तथा मजदूरहरूको खोजीका लागि तीन वटा देशका विशेषज्ञ टोली परिचालन गरिएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोसी बाढीको क्षति र पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएका हुन्।
जलविद्युत् आयोजनाका सुरुङहरूमा अड्किएका तथा सम्पर्कविहीन भएका मानिसको खोजी र उद्धार कार्य तीव्रताका साथ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भने, ‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ।’
बाढीका कारण सो क्षेत्रका ११ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको उनले संसद्लाई जानकारी दिए। तीमध्ये केही जलविद्युत् आयोजनाहरूलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउन ठूलो धनराशि खर्च हुने देखिएको पनि प्रधानमन्त्री शाहले बताए।
प्रतिक्रिया