नेपाल क्रिकेट संघ (क्यान)ले आगामी आइसिसी पुरुष टी–२० विश्वकपका लागि आइतबार प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । गत २७ मंसिरमा सम्पन्न दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी तथा अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा समावेश भएका छन् । क्यानले २४ खेलाडीलाई सोमबारबाटै प्रशिक्षणमा बोलाएको छ ।
एनपिएलको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याट्सम्यान विनोद र सुदूरपश्चिमकै बलर अविनाशले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । विनोद दोस्रो एनपिएलकै तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए । अविनाशले सर्वाधिक १७ विकेट हात पारेका थिए । विराटनगर किंग्सका सन्दीप लामिछानेसँग रनरेटमा पछि पर्दा अविनाश दोस्रो स्थानमा रहे ।
क्यानले रोहित पौडेललाई कप्तानी र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानीको जिम्मेवारी दिएको छ । क्यानले एनपिएलका इमर्जिङ प्लेयर शेर मल्ललाई पनि अवसर दिएको छ । लुम्बिनीलाई पहिलोपटक एनपिएल च्याम्पियन बनाउन स्पिनर शेरले पनि १७ विकेट हात पारेका थिए । एनपिएलमा खासै प्रभावशाली प्रदर्शन गर्न नसकेका स्पिनर ललितनारायण राजवंशी पनि टोलीमा अटाएका छन् । प्रशिक्षक स्टुवार्ट लले राजवंशीलाई अनुभवी खेलाडीका रूपमा समावेश गरेका हुन् । सुदूरपश्चिमबाट सात खेलमा नौ विकेट लिएका बलर हेमन्त धामीले भने प्रारम्भिक चरणमा स्थान बनाउन सकेनन् । विनोदले अन्तिमपटक नेपालबाट सन् २०२४ को मार्चमा पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
खेलाडी छनोट आधार एनपिएल
सुदूरपश्चिमका विकेटकिपर विनोदले एनपिएलमा जति उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा समावेश हुन नसकिने प्रतिक्रिया दिएका छन् । ‘जस्तोसुकै उत्कृष्ट ब्याटिङ वा बलिङ प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा छनोट हुन सकिँदैन,’ एनपिएलमा दुई अर्धशतकीय इनिङ्स खेलेपछि उनले भनेका थिए, ‘यसकारण यहाँ राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा स्थान बनाउन सकिन्छ भन्ने विश्वास राख्दिनँ ।’ गत वर्षको संस्करणमा पनि विनोदले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, उनी त्यसवेला टोलीमा पर्न सकेनन् । यसकारण उनले एनपिएललाई छनोट आधार नभएको मानेका थिए ।
तर, क्यानले भने एनपिएललाई टी–२० विश्वकपका लागि खेलाडी छनोटको मुख्य आधार मानेको देखिन्छ । विनोद एनपिएलमा नौ इनिङ्समा २६४ रन बनाएका थिए । उनीभन्दा अगाडि नेपाली खेलाडीमा कप्तान रोहितले २७६ रन बनाएका थिए । राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा स्थान बनाएका अविनाश भने एनपिएल सकिएलगत्तै अस्ट्रेलिया पुगिसकेका छन् । उनी पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन् ।
एनपिएलमा कमजोर प्रदर्शन गरेका आदिल आलम, सन्दीप जोरा र ओपनर आसिफ शेखले पनि प्रारम्भिक प्रशिक्षणमा स्थान बनाएका छन् । देव खनाल, पवन सर्राफजस्ता खेलाडीलाई समिटिएको छैन । एनपिएपलमा उत्कृष्ट प्रदर्शन गरेपछि क्याम्पमा विनोद र अभिनाशसँगै ईशान पाण्डे, बसिर अहमद, रुपेशकुमार सिंह, भीम सार्की र प्रतिश जिसीलाई प्रशिक्षणमा बोलाइएको छ ।
नेपालको समूहमा दुई विश्वविजेता
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी पुरुष टी–२० विश्वकपमा नेपालले आफ्नो समूहमा पूर्वविश्वकप विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको समूह ‘सी’मा सन् २०१२ र ०१६ को विजेता वेस्ट इन्डिजसँगै एकपटकको विजेता इंग्ल्यान्ड रहेका छन् । यसैगरी, बंगलादेश र इटाली यसै समूहमा रहेका छन् । इटाली पहिलोपटक विश्वकपमा पुगेको हो । इटालीले युरोपियन छनोटमा स्कटल्यान्डलाई स्तब्ध पार्दै स्थान सुरक्षित गरेको हो ।
नेपालका सबै खेल मुम्बईको वाङखडे रंगशालामा हुनेछ । नेपालले पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्यान्डसँग खेल्नेछ । दोस्रो खेल १२ फेब्रुअरीमा इटालीसँग, १५ फेब्रुअरीमा वेस्ट इन्डिज र १७ फेब्रुअरीमा बंगलादेशसँग खेल्ने तालिका छ ।
यस्तो छ प्रारम्भिक टोली
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, अविनाश बोहरा, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जिसी र रूपेशकुमार सिंह
प्रतिक्रिया