• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • बेलौरी–बेल्डाँडी सडकखण्ड : सातपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरेपछि तोडियो ठेक्का

    बेलौरी–बेल्डाँडी सडकखण्ड : सातपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरेपछि तोडियो ठेक्का

    सातपटक म्याद थप गर्दा पनि १० वर्षमा निर्माण नभएपछि हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको बेलौरी–बेल्डाँडीखण्डको ठेक्का तोडिएको छ।

    हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले बिहीबार सूचना प्रकाशित गरेर २० किलोमिटर कालोपत्रेको ठेक्का पाएको बाबाहंश–सिद्धिसाई जेभीसँग सम्झौता रद्द भएको जनाएको हो। साथै, निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्न सिफारिससमेत गरिएको छ। सिद्धिसाई कांग्रेस डोल्पा सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो।

    २० किलोमिटर सडकको विस्तारसँगै कालोपत्रेको काम ३० महिनाभित्र सक्ने गरी १२ फागुन २०७३ मा बाबाहंश–सिद्धिसाई जेभीसँग निर्माण सम्झौता भएको थियो। लागत ४१ करोड ४१ लाख ४९ हजार रुपैयाँ थियो। तर, १० वर्षसम्म भौतिक प्रगति ८२ प्रतिशत (१२.४३ किलोमिटर कालोपत्रेसहित) र वित्तीय प्रगति ७७.१३ प्रतिशत रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले बताए।

    पछिल्लोपटक साढे तीन महिनाका लागि गत १० असारमा सातौँपटक म्याद थप गरिएको थियो। तर, निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर चौधरीले बताए। ‘काम गर्न पटकपटक दबाब दियौँ, सूचना र पत्राचार गर्‍यौँ, तर ठेक्का पाएको कम्पनी काममा फर्केन,’ चौधरीले भने, ‘पछिल्लोपटक ठेक्का किन नतोड्ने भनेर सूचना निकाल्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो।’

    उनका अनुसार २० किलोमिटरमध्ये विभिन्न समयमा गरी १२.४३ किलोमिटर कालोपत्रे भइसकेको छ। बाँकी खण्डमा निर्माण कम्पनीले बेस हालेको छ। त्यसमध्ये करिब एक हजार चार सय मिटर खण्डमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्र भन्दै ग्राभेल गरेपछि थप काम गर्न अवरोध गरेको थियो। ठेक्का रद्द भएसँगै निर्माण कम्पनीको धरौटी जफत गर्नेलगायत प्रक्रिया अगाडि बढ्ने योजना कार्यालयले जनाएको छ।

    कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटर सडकलाई तीनवटा खण्डमा छुट्याएर ठेक्का लगाइएको थियो। अन्य दुई खण्डमा पनि पटकपटक म्याद थपपछि मात्र काम पूरा भएको थियो। निर्माण कम्पनीले लामो समयसम्म काम अलपत्र छोडे पनि म्याद थप्दै आएको योजना कार्यालय यसअघि काम गराउने वा ठेक्का तोड्ने विकल्पमा जान सकेको थिएन।

    कैलालीमा पनि हुलाकी राजमार्ग निर्माण सुस्त
    कैलालीमा पनि हुलाकी राजमार्ग निर्माणले पूर्णता पाएको छैन। धनगढीदेखि टीकापुरको सत्तीसम्म निर्माणाधीन राजमार्गअन्तर्गत करिब ४५ किलोमिटरमध्ये भजनी–सत्तीखण्ड र फूलबारी–बसन्ताखण्डको काम अधुरै छ। भजनीदेखि सत्तीसम्मको १३ किलोमिटर खण्डको भौतिक प्रगति ४६ प्रतिशत मात्र रहेको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीका सूचना अधिकारी गणेशबहादुर बुढाले बताए। असार ०७७ मा भएको सम्झौताअनुसार पुस ०७९ मै काम सम्पन्न हुनुपर्ने हो। पछिल्लोपटक थप गरिएको अवधि आगामी चैतमा सकिँदै छ।

    फूलबारी–कैलारीखण्डको १२ किलोमिटरमध्ये एक किलोमिटर मात्र कालोपत्रे हुन बाँकी रहेको बुढाले बताए। यो खण्डमा पछिल्लोपटक थप गरिएको अवधि मंसिरभित्र सकिँदै छ। हुलाकी राजमार्गअन्तर्गत लम्कीदेखि टीकापुरको सत्तीसम्म लिंकरोड निर्माणले पनि पूर्णता पाएको छैन। टीकापुरदेखि सत्तीसम्मको खण्डले पूर्णता पाउन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २६, शुक्रबार ०७:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP