• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • आज माओवादी–समाजवादी एकता सम्मेलन यसरी हुँदै छ

    आज माओवादी–समाजवादी एकता सम्मेलन यसरी हुँदै छ

    यसरी हुँदै छ आज माओवादी–समाजवादी एकता सम्मेलन
    पार्टीभित्रका असन्तुष्ट पक्ष छाडेर माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले बुधबार पार्टी एकता घोषणा गर्दै छन् । भृकुटीमण्डपमा आयोजना हुने एकता घोषणालगत्तै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकता घोषणा, घोषणापत्र र आन्तरिक विधान पारित गर्ने र केन्द्रीय समिति गठनलगायतका काम गर्ने तयारी छ । घोषणापत्रमा पार्टी बनाउनुको उद्देश्य, आधारभूत सिद्धान्त र आमनीति तथा प्रतिबद्धता उल्लेख छ ।

    शीर्ष नेताहरूले मंगलबार साँझ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) टुंगो लगाएका छन् । एकता राष्ट्रिय सम्मेलन नयाँ पार्टीको नामसहित चुनाव चिह्न पाँचतारे तारा घोषणा गरिनेछ । यस्तै, पार्टीको संयोजक र सह–संयोजक पनि घोषणा हुनेछन् । माओवादी संयोजक प्रचण्ड एकीकृत पार्टीको संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहसंयोजक रहनेछन् ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेसपा, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी–समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी पार्टी एकतामा सहभागी छन् । एकताका लागि ती पार्टी–समूहले आ–आफ्नो पाटी–समूहभित्र निर्णय गराइसकेका छन् ।

    पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको उनीहरूको ठहर छ ।

    पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालीन कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने रहेको छ । आन्दोलनको स्वरूप मूलत: शान्तिपूर्ण हुने, परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत आवश्यकताअनुसारका सबै मोर्चाहरू आन्दोलनका मोर्चा हुनेछन् ।

    एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साबिकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गर्ने तयारी छ ।

    पार्टीका केन्द्रीय संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति (पोलिटब्युरो), सचिवालय र कार्यसंयोजन समिति हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सह–संयोजक रहनेछन् ।

    कुनै पनि सदस्य दुई तहको समितिमा रहन पाउने भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुनेछ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने समझदारी छ । एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजक, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने सहमति छ ।

    पार्टी समितिहरू र जनसंगठनमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिने भएको छ । पार्टीको तहगत कार्यकारी समितिहरूमा केन्द्र, भौगोलिक र गैरभौगोलिक प्रदेश, जिल्ला, पालिका र वडा कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिकस्तरका समितिहरू संगठन समितिको रूपमा रहनेछन् ।

    माओवादीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले एकता सहमतिलाई अनुमोदन गरेको छ । बैठकमा प्रचण्डले एकता सहमतिबारे जानकारी गराएका थिए । त्यसपछि अनुमोदनका लागि प्रस्तुत भएको थियो । बैठकमा प्रचण्डले नेता जनार्दन शर्मालाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । ‘विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ भनेर अध्यक्षले अपिल गर्नुभएको छ । देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभयो । नेतृत्वको टिम निर्माण गर्ने कुरा पनि बताउनुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने । एकताले राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको उनले जिकिर गरे ।

    प्रचण्डले पूर्वउप्रधानमन्त्री एवं एमालेका पूर्वउपाध्यक्ष भीम रावलसँग पनि एकताबारे छलफल भइरहेको जानकारी दिएका छन् । मंगलबार बिहान मात्रै पनि एकताबारे महत्वपूर्ण छलफल भएको उनले बताए । बैठक स्रोतका अनुसार प्रचण्ड र नेपालले रावललाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । रावलले साथीहरूसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

    यस्तै, पार्टी पुनर्गठनको घोषणा गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग पनि छलफल भइरहेको प्रचण्डले बताएका छन् । ‘भीम रावल, झलनाथ खनाल, घनश्याम भुसालसँग पनि कुराकानी भइरहेको छ । कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा विकसित भएको प्रमाणको रूपमा यो एकता रहेको छ,’ सापकोटाले भने ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १९, बुधबार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP