कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले शनिबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निकास खोज्न छलफल गरे । तर, सहमति जुट्न सकेन । सभापति शेरबहादुर देउवा भने दिनभर डा. शेखर कोइरालालगायत निकटस्थसँग छलफलमा थिए । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निकटस्थहरूसँग देउवाको छलफल पार्टी विवादबारे नभई समानुपातिक सूची सच्याउने विषयमा थियो ।
‘पार्टीको विषय स्पष्ट छ, उहाँहरू (महामन्त्रीद्वय) अघि बढिसक्नुभएको छ । विशेष महाधिवेशनको औचित्य छैन भन्ने पार्टीको निर्णय आइसकेपछि र उहाँहरू त्यसबाट तलमाथि नगर्ने अडान राखेपछि त्यसमा छलफलको अर्थ हुँदैन,’ महतले भने, ‘सभापतिले समानुपातिक सूची मिलाउने विषयमा नेताहरूसँग छलफल गर्नुभएको हो । महामन्त्रीहरूसँग कार्यवाहक सभापति पूर्णबहादुरजी, रमेशजीहरूले सम्पर्कमा रहेर कुराकानी गरिरहनुभएको छ । तर, उहाँहरू पछि नहटेका कारण कुनै सहमतिको सम्भावना रहेन । विशेष भेला वा नीति अधिवेशनका रूपमा अघि सारेको भए छलफल गर्न सकिने ठाउँ हुन्थ्यो । अब, विशेष महाधिवेशनमा के गर्नुहुन्छ हामी हेर्छौँ ।’
पार्टी विवाद शिखरमा पुग्दा शीतलनिवास पसे देउवा
डा. शेखर कोइरालालगायत नेताले दिनभर देउवासँग छलफल गरेका थिए । बिहान छलफल चल्दै गर्दा शीतलनिवासबाट फोन आएपछि देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न निस्किएका थिए भने कोइराला पनि बाहिरिएका थिए । शीतलनिवास स्रोतका अनुसार देउवालाई पौडेलले कांग्रेसको आन्तरिक विवादप्रति अफू चिन्तित रहेको र यसले लोकतन्त्रप्रेमीलाई चिन्ता थपेको भन्दै फुटसम्म पार्टी नपुगोस् भन्ने शुभेच्छा जनाएका थिए । देउवाले आफू प्रयत्नरत रहेको जवाफ दिएका थिए । कांग्रेस प्रवक्ता महतले राष्ट्रपति–देउवा भेटलाई पुष्टि गरे पनि छलफलका विषयबारे खुलाउन चाहेनन् ।
देउवा शीतलनिवासबाट फर्किएपछि कोइराला दिउँसो १:३० बजे पुन: देउवानिवास प्रवेश गरेका थिए । देउवासँग उनीसँगै कार्यवाहक सभापति खड्का, सहमहामन्त्री जीवन परियार, नेता डा. मीनेन्द्र रिजाल, बालकृष्ण खाण, डा. प्रकाशशरण महतलगायत छलफलमा थिए ।
‘सभापतिज्यू राष्ट्रपतिनिवास जानुअघि एक चरण छलफल भएको थियो । सभापति शीतलनिवासबाट फर्केपछि पुन: शनिबार डेढ बजेदेखि डा. कोइराला देउवानिवासमा दिनभर बस्नुभयो,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले भने ।
सुरुमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न महासमिति सदस्यहरूलाई कोइरालाले नै प्रेरित गरेका थिए । त्यसपछि हस्ताक्षर अभियानको अगुवाइ उनीनिकट नेता गुरुराज घिमिरले गरेका थिए । कोइरालाले शुक्रबार घिमिरेसहित १० नेतासँग दुई घण्टा छलफल गरेका थिए ।
कोइरालाले दुई विकल्प सुझाएका छन् । पहिलो– विशेष महाधिवेशन रोकौँ । दोस्रो– यदि रोक्न सक्दैनौँ भने यसलाई केन्द्रीय समितिले स्वामित्व लिएर नीति महाधिवेशनमा परिणत गर्न प्रयास गरौँ र संकल्प प्रस्तावहरू पेस गरेर जाउँ । तर, सभापति देउवा र कार्यवाहक सभापति खड्का दुवै विकल्पमा तयार भएनन् ।
पूर्वसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता महतलगायतले देउवालाई विशेष महाधिवेशनबारे गलत रिपोर्टिङ गरेको र उनीहरूको सुझाव मात्रै सुन्ने हो भने पार्टी दुर्घटनामा जानेतर्फ कोइरालाले ध्यानाकर्षण गराउँदै आएको स्रोत बताउँछ । विशेष महाधिवेशनलाई कुनै न कुनै रूपमा केन्द्रिय कार्यसमितिले सम्बोधन गर्नुपर्नेमा कोइरालाले सुझाव दिएका छन् ।
प्रतिक्रिया